बनेपा-६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेमा आयोजित अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले जितेको छ।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा बनेपा-११ स्थित ABM स्कुलको फुटसल मैदानमा भएको उक्त प्रतिस्पर्धामा पाँचखाल वडा नं.४ मा अवस्थित स्वेच्छा साकोस पहिलो हुन सफल भएको हो। प्रतियोगितामा इन्द्रेस्वर साकोसले द्वितीय र एक्सप्रेस साकोसले तृतीय स्थान हासिल गरेका छन्।
सहकारीहरूबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा कुल १३ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगिताका विजयी टिम र खेलाडीलाई चैत २० गते जिल्ला सहकारी संघमा आयोजना हुने सहकारी दिवस कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।