यस्तो छ धुलिखेललाई 'हब' बनाएर काभ्रेमा पर्यटन प्रवर्द्धन गर्ने योजना


मेचीकाली , 

काभ्रे– आज विश्व पर्यटन दिवस, दिवसको अवसरमा उद्योग, बाणिज्य तथा पर्यटन कार्यालय काभ्रेले सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काभ्रेपलाञ्चोकलाई समग्र पर्यटन गन्तव्यका रूपमा विकास गर्न धुलिखेललाई मुख्य पर्यटन केन्द्र बनाएर जिल्लाका विभिन्न क्षेत्रलाई एउटै सञ्जालमा जोड्ने योजना सार्वजनिक गरिएको छ । 

कार्यक्रममा होटल संघ नेपाल (हान) धुलिखेल च्याप्टरका अध्यक्ष प्रह्लाद प्याकुरेलले प्रस्तुत गरेको कार्यपत्रमा ‘स्टे इन धुलिखेल, डे ट्रिप्स टु १२ डेस्टिनेसन’ अवधारणा अघि सारिएको हो । अवधारणाअनुसार पर्यटकलाई धुलिखेलमा बसाइ गराई जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरूमा एकदिने भ्रमण गराउने र यसबाट पर्यटकको बसाइ तथा खर्च दुवै बढाउने लक्ष्य राखिएको छ ।

काभ्रेमा भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक विविधता रहेकाले पर्यटनका लागि ठूलो सम्भावना रहेको कार्यपत्रमा उल्लेख छ । समुद्री सतहबाट २८० मिटरको कोखाजोर खोलादेखि ३ हजार १८ मिटर उचाइको बेथानचोक नारायणस्थानसम्म फैलिएको जिल्लालाई विविध पर्यटन गतिविधिको गन्तव्य बनाउन सकिने प्रस्ताव गरिएको छ ।

धुलिखेलमा २५ अर्ब लगानी

प्रस्तुत तथ्याङ्कअनुसार काभ्रेमा हाल १८९ होटल सञ्चालनमा छन् । तीमध्ये धुलिखेलमा मात्रै ८८ होटल छन् । यहाँ १ हजार ३५० कोठा र २ हजार ८५० बेडको क्षमता रहेको छ । धुलिखेलको होटल तथा पर्यटन क्षेत्रमा करिब २५ अर्ब रुपैयाँ लगानी भएको र त्यसमा बैंक तथा वित्तीय संस्थाबाट करिब १५ अर्ब रुपैयाँ कर्जा परिचालन भएको कार्यपत्रमा उल्लेख छ । होटल व्यवसायबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी ब्याज तथा ३० करोड रुपैयाँभन्दा बढी राजस्व भुक्तानी हुने गरेको जनाइएको छ ।

पूर्वाधार र प्रचारमा जोडपर्यटनको सम्भावना भए पनि गुरुयोजनाको अभाव, प्रभावकारी प्रचारप्रसार नहुनु, व्यवस्थित पर्यटक सूचना केन्द्रको कमी, स्थानीय कृषि उत्पादनलाई होटल व्यवसायसँग जोड्न नसक्नु र दक्ष पर्यटक गाइडको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।

यस क्षेत्रबाट प्रत्यक्ष रूपमा करिब १ हजार ३०० जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमध्ये करिब ८० प्रतिशत अर्थात् १ हजार ४० जना काभ्रेकै नागरिक रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।


१२ गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोडिने

प्रस्तावित अवधारणाले धुलिखेललाई आधार बनाएर बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल, बेथानचोक, तेमाल, रोशी, भुम्लु, मण्डनदेउपुर–नगरकोट, महाभारत–खानीखोला र चौँरीदेउराली लगायतका क्षेत्रलाई फरक–फरक पर्यटन उत्पादनका रूपमा विकास गर्न खोजेको छ । बनेपाको ऐतिहासिक बजार, पनौतीको सम्पदा, नमोबुद्धको धार्मिक पर्यटन, पाँचखालको कृषि पर्यटन, बेथानचोकको हाइकिङ, तेमालको तामाङ संस्कृति, रोशीका प्राकृतिक सम्पदा तथा भुम्लुको ¥याफ्टिङ र होमस्टेलाई पर्यटकीय प्याकेजमा जोड्ने प्रस्ताव छ ।


त्यस्तै महाभारत र खानीखोलामा कफी, लालीगुराँस, जंगल तथा चराचुरुङ्गी अवलोकन, चौँरीदेउरालीमा पदमार्ग र इको टुरिजम तथा मण्डनदेउपुर–नगरकोट क्षेत्रमा दृश्यावलोकन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ ।


दुई दिनदेखि सात दिनसम्म पर्यटक रोक्ने लक्ष्य

पर्यटकलाई केवल एकदिने भ्रमणमा सीमित नगरी २ देखि ७ दिनसम्म काभ्रेमा बस्ने वातावरण बनाउने प्रस्ताव पनि गरिएको छ । यसका लागि योग तथा वेलनेस, मेडिकल टुरिजम, जिपलाइन, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ तथा ¥याफ्टिङजस्ता साहसिक गतिविधिलाई पर्यटन प्याकेजमा समेट्ने योजना छ । सुन्दरीजल–चिसापानी–नगरकोट–धुलिखेल–नमोबुद्ध–बल्थली पदयात्रा, ओरेन्ज ब्लोसम हाइक तथा धुलिखेल–शारदा–पनौती युनिफिकेसन ट्रेलजस्ता पदमार्गलाई पनि पर्यटन सर्किटका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ ।


पूर्वाधार र प्रचारमा जोडपर्यटनको सम्भावना भए पनि गुरुयोजनाको अभाव, प्रभावकारी प्रचारप्रसार नहुनु, व्यवस्थित पर्यटक सूचना केन्द्रको कमी, स्थानीय कृषि उत्पादनलाई होटल व्यवसायसँग जोड्न नसक्नु र दक्ष पर्यटक गाइडको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ । होटल संघले धुलिखेललाई देशकै पहिलो आधिकारिक ‘पर्यटकमैत्री शहर’ घोषणा गरी आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएको छ । साथै ठमेल–धुलिखेल नियमित पर्यटकीय बस सेवा सञ्चालन, पोखरा, चितवन र लुम्बिनीबाट धुलिखेल जोड्ने पर्यटकीय यातायात सञ्जाल विस्तार तथा पनौती र नमोबुद्धलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

पर्यटकको सुरक्षाका लागि छुट्टै पर्यटक प्रहरीको व्यवस्था र सार्वजनिक–निजी साझेदारीमा जिल्लास्तरीय स्थायी पर्यटन संयन्त्र निर्माण गर्नुपर्ने प्रस्तावसमेत कार्यपत्रमा गरिएको छ ।

कार्यक्रममा कसले के भने ?

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता तथा कार्यालयका प्रमुख रविन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, पर्यटकीय मार्ग, क्षेत्र तथा होटल ब्यवसायहरुको अवस्था र क्षमताका बारेमा चर्चा गरिएको थियो  । पर्यटन क्षेत्रको गुणस्तर कायम गर्न र पर्यटकहरुको बसाई लम्ब्याउन आवश्यक पर्ने पुर्वाधार र अवस्थाका बारेमा छलफल गरिएको थियो  ।

पहिलो पटक प्रदेश सरकारको तर्फबाट उद्योग कार्यालयलाई थप पर्यटन हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ  । पहिलो पटक उद्योग तथा बाणिज्य कार्यालयले नाम फेरिए पछिको जिम्मेवारी अनुसारको कार्यक्रम आयोजना गरेको कार्यालय प्रमुख रविन घिमिरेले बताए  । जिल्लाको पर्यटन क्षेत्रलाई अझै ब्यवस्थित बनाउन र पर्यटन क्षेत्रलाई थप गुणस्तरीय बनाउन आवश्यक सरकारी निकायहरुले खेल्ने भूमिका र समन्वयका लागि कार्य गर्ने बताए  ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारका लागि आवश्यक समन्वय गर्ने बताए  । धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले धुलिखेल उपत्यकाकाको नजिक तर पर्यटकिय क्षेत्रमा शशक्त बन्दै गएको शहर भएकाले त्यसको ब्यवस्थित योजना निर्माणका लागि आवश्यक गरिरहेको बताए  । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, होटल ब्यवसायी मनिष यगोल श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका महासचिव अनन्तकृष्ण श्रेष्ठ लगायतले काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक कार्यहरु गर्न सुझाव दिएका थिए  ।


प्रतिक्रिया



थप समाचारहरु