काभ्रे-काठमाडौं विश्वविद्यालयले (केयू) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि मार्च १८ र १९ मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ।
हिन्दुकुश-हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई सुदृढ बनाउन रिट्रिट आयोजना गरिएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
कार्यक्रममा ७० भन्दा बढी अन्तर्राष्ट्रिय अतिथिहरू सहभागी हुनेछन्, जसमा ३० जना उपकुलपति तथा विभिन्न उच्च शिक्षण संस्थाका प्रमुखहरू रहनेछन् । थाइल्यान्ड, म्यानमार, वाङ्लादेश, चीन, भारत र भुटान लगायतका देशका विश्वविद्यालयबाट सहभागीता रहने कार्यक्रममा दश देशका राजदूत तथा कूटनीतिज्ञहरूको पनि उपस्थिति रहनेछ। विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले कार्यक्रममा सोचेभन्दा बढी विश्वविद्यालयका उपकुलपति र प्रतिनिधि सहभागी हुने बताए । केयुको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा यो कार्यक्रम थप प्रभावकारी हुने उनले वताए ।
सहभागीहरूले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चित गर्ने विषयमा सहकार्य गर्ने आयोजकले जनाएको छ। कन्सोर्टियममा आबद्ध हुन इच्छुक शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाउनेछन् ।
कार्यक्रममा सातवटा प्राविधिक सत्रमार्फत हिन्दुकुश-हिमालय क्षेत्रका प्रमुख मुद्दाहरूमा छलफल हुनेछ, जसमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन, बहुपक्षीय शैक्षिक तथा अनुसन्धान सहकार्य, हिमालयन युनिभर्सिटी कन्सोर्टियमको अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण, वार्षिक कार्ययोजना तथा क्षेत्रीय सहकार्यका लागि उपकुलपतिहरूको फोरम स्थापना जस्ता विषयहरू समावेश छन् ।
छलफलहरू बाह्र विषयगत क्षेत्रमा केन्द्रित हुनेछन्, जसमा फुड-एनर्जी-वाटर नेक्सस, क्रायोस्फियर र समाज, विपद् जोखिम व्यवस्थापन, परम्परागत तथा आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन र कार्बन न्यूट्रालिटी, पर्वतीय कृषि, हरित अर्थतन्त्र लगायतका विषयहरू छन् ।
रिट्रिटमा छलफल हुने विषयहरूले विकासोन्मुख विश्वभर ज्ञानमा आधारित साझेदारी विस्तार गर्दै आगामी केही दशकमा हाम्रो क्षेत्रले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने विश्वास काठमाडौं विश्वविद्यालयले लिएको छ ।
कार्यक्रमको अन्तिम दिन "काठमाडौं घोषणापत्र" का साथ यस कार्यक्रम समापन हुनेछ ।
सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिन्दुकुश-हिमालय क्षेत्रका १०७ सदस्य विश्वविद्यालयहरूको साझ मञ्च हो। प्रारम्भमा इसिमोडमा स्थापित यस कन्सोर्टियमको सचिवालय गत वर्ष डिसेम्बरमा काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण गरिएको हो ।