अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडकको निर्माण अहिले तीब्र गतिमा चलिरहेको छ । तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गरेर निर्माणलाई तीब्रता दिइएको हो । के कारण सडक निर्माणमा ढिलाई भयो र अब थपिएको समयमा निर्माण सम्पन्न होला ? सूर्यविनायक-धुलिखेल सडक आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अञ्जु परियारसँगको कुराकानी :
तोकिएको समयमा सूर्यविनायक– धुलिखेल सडक आयोजनाको निर्माण सम्पन्न हुन सकेन किन होला र अब थपिएको समयमा काम सकिन्छ कि सकिन्न ?
मुख्यगरी स्थानीयस्तरमा सडक विस्तारका क्रममा केही विवाद उत्पन्न भयो । यसका कारण पनि निर्माण कार्यलाई तीब्रता दिन ढिलाई भयो । अर्को कुरा स्थानिय विवाद, साइट क्लियरेन्स गर्न, विद्युतका पोल लगायतका कुराहरु सार्न पनि केही ढिलाई भयो र बजेटका कारण पनि केही समस्या देखिएको थियो । जसका कारण तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुन सकेन । अब भने हामी थपिएको समयमा नै कार्य सम्पन्न गर्न प्रयत्नरत छौं ।
निर्माण व्यवसायीले काम अनुसारको भुक्तानी नपाएकाले काम सुस्त भएको भन्ने चर्चा पनि छ नि ? कतिको सत्यता छ ?
त्यो कारणले मात्र त होइन । यस आर्थिक वर्षमा हालसम्म आइपुग्दा भुक्तानी समयमानै भएको छ । अवको लागि बजेट अपुग त छ । तर आवश्यक बजेट व्यवस्थापनको लागि पहल भइरहेको छ र चाँडै नै बजेट व्यवस्थापन हुनेमा हामी आशावादी छौं ।
यो सडकखण्डमा साँगा हुँदै पलासे निस्कने ठाउँ अझै पनि जोखिपूर्ण देखिएको छ । पहिरो खस्न नदिने दिर्घकालिन उपाय के अपनाउँदै हुनुहुन्छ ?
साँगादेखि पलासेसम्म भौगोलिक जटिलता बढि भएकोले समस्या देखिएको छ । सो सम्बन्धमा जिओटेक्टिकल अध्ययन भइरहेको छ । त्यसको प्रतिवेदन प्राप्त भएपछि आवश्यक ‘ट्रिटमेन्ट’ गरी जोखिम न्यूनीकरण गरिन्छ । साँगाबाहेकको अन्य क्षेत्रमा भने यो समस्या देखिएको छैन ।
यो सडकमा कतिपय स्थानमा मुख्य लेनबाट अन्यत्र जानका लागि ठाउँ राखिएन भन्ने गुनासो छ, जस्तो कि २८ किलो चोकबाट काठमाडौं विश्वविद्यालय जान निकै घुमेर आउनुपर्ने अवस्था छ । यसले सर्वसाधारणलाई झन् सास्ती दिएन र ?
गुनासो छ । तर हामीले एक्सपर्टको डिजाइन अनुसार तथा मापदण्डअनुसार नै काम गरिरहेका छौं । सोहीअनुसार चोक वा 'इन्टरसेक्सन' पनि राखेका छौं । यसका साथै सडक सुरक्षालाई विशेष ध्यान दिएर सर्वसाधारण तथा सवैको सहजतालाई मध्यनजर गरेर नै उपयुक्त स्थानमा राखिएको छ ।
सडकको मापदण्डका विषयमा पनि विवाद छ । अन्यत्र ८२ फुट हुँदा बनेपामा किन ७५ फूटमात्रै कायम गरियो ?
सार्वजनिक सडक ऐन २०३१ अनुसार राजमार्गको चौडाई ८२ फिट भएता पनि यस खण्डमासम्मानित सर्वोच्च अदालतबाट भएको आदेश अनुसार यस आयोजनाको ७५ फुट कायम भएको हो ।
राजमार्ग निर्माणको अन्तिम चरणमा पुगिसक्दा पनि बनाउनुपर्ने पुल निर्माणको काम किन सहजरुपमा अघि बढ्न सकेन ?
तिनवटा पूल मध्ये महादेव खोलामा निर्माण कार्य भैरहेको छ । अन्य २ वटा पुलहरुमा डिजाइनको प्रारम्भिक चरणमा नै स्थानियवासी/जनप्रतिनिधिहरुले विभिन्न माग राखी अवरोध गरेकोले डिजाइन कार्य ढिला भएको थियो । हाल ती समस्याहरु समाधान भैसकेकोले डिजाइन भै आएको छ र निर्माण कार्यको लागी तयारी भैरहेको छ । चाँडै नै ती पुलको निर्माण पनि सुरु हुनेछ ।
सडकको गुणस्तरमा कतिको ध्यान दिनुभएको छ ? निर्माण भएको केही वर्षमै भत्किने अवस्था त सिर्जना नहोला नि ?
सडकको गुणस्तरमा हाम्रो सडक विभागको Standard Specification Amendment २०७८ Design Standard तथा सडकको Guideline अनुसार गुणस्तरमा ध्यान दिइएको छ । सडक सम्पन्न भइसकेपछि नियमित मर्मत सम्भारको कार्य गरिने छ ।।
यो आयोजना पुरा गर्नको लागि अझैपनि ४ अर्ब रुपैयाँ चाहिने देखिन्छ त्यसको श्रोत सुनिश्चिता कसरी भएको छ ?
यसको ठेक्का व्यवस्थापन हुदा नै श्रोत सुनिश्चितता भएको हो र यो आ.व.मा निर्माण कार्यको प्रगति हुंदै जाँदा बजेट ब्यवस्थापन हुन्छ । अब बजेटको अभावका कारण काम रोकिने या ढिलाई हुने छैन भन्नेमा हामी आशावादी छौं ।