अस्थायी आवास निर्माणको लागि एक वर्षमा बाह्र करोड निकाशा


मेचीकाली

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विपद्बाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणको लागि आर्थिक वर्ष २०८२÷०८३ मा १२ करोड छ लाख २५ हजार रुपियाँ निकाशा गरेको छ । कार्यालयका लेखापाल नरहरी खनालले आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाका १३ वटा स्थानीय तहमा विपद्बाट प्रभावित बनेका तीन हजार १६५ घरपरिवारलाई अस्थायी आवासका लागि प्रति परिवार २५ हजारका दरले सात करोड ९१ लाख २५ हजार रुपियाँ निकाशा गरिएको जानकारी दिनुभयो । उहाँले विपद्बाट प्रभावित बनेका १३ मध्ये १० स्थानीय तहका एक हजार ६६० घरपरिवारका लागि अस्थायी आवास वापत दोस्रो किस्ताको चार करोड १५ लाख रुपियाँ निकाशा गरिएको बताउनुभयो । लेखापाल खनालले जिल्लाको नमोबुद्ध नगरपालिकाका ८२४ घरपरिवारलाई पहिलो किस्ता, पहिलो किस्ता दिएकामध्ये ४४२ परिवारलाई दोस्रो किस्ता, बेथानचोक गाउँपालिकाका २३९ परिवारलाई पहिलो, २०८ परिवारलाई दोस्रो किस्ता, महाभारत गाउँपालिकाका ३९ परिवारलाई पहिलो, ३६ परिवारलाई दोस्रो किस्ताको रकम निकाशा भएको बताउनुभयो ।

यस्तै जिल्लाको पनौती नगरपालिकाका ६३४ परिवारलाई पहिलो किस्ता, २९४ परिवारलाई दोस्रो किस्ता, पाँचखाल नगरपालिकाका ८८ घरपरिवारलाई पहिलो, ६६ परिवारलाई दोस्रो किस्ता, धुलिखेल नगरपालिकाका ९० परिवारलाई पहिलो, ३२ परिवारलाई दोस्रो, मण्डनदेउपुर नगरपालिकाका १३३ परिवारलाई पहिलो किस्ता वापतको रकम निकाशा भएको छ । जिल्लाको खानीखोला गाउँपालिकाका ५३ घरपरिवारलाई पहिलो किस्ता, चौरीदेउराली गाउँपालिकाका २८० घरपरिवारलाई पहिलो किस्ता, ८७ घरपरिवारलाई दोस्रो किस्ता, रोसी गाउँपालिकाका ५६३ घरपरिवारलाई पहिलो किस्ता, ४६१ परिवारलाई दोस्रो किस्ता रकम निकाशा गरिएको प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाको बनेपा नगरपालिकाका ४१ परिवारलाई पहिलो कस्ता, एक परिवारलाई दोस्रो किस्ता, भुम्लु गाउँपालिकाका ४० परिवारलाई पहिलो किस्ता, ३३ परिवारलाई दोस्रो किस्ता र तेमाल गाउँपालिकाका १४१ परिवारलाई पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । 

कुन पालिकामा कति पठाइयो ? 

जिल्ला प्रशासन कार्यालयले अस्थायी आवास निर्माणको लागि नमोबुद्ध नगरपालिकामा हालसम्म अस्थायी आवासका लागि तीन करोड १६ लाख ५० हजार, बेथानचोकमा एक करोड ११ लाख ७५ हजार, महाभारत गाउँपालिकामा १८ लाख ७५ हजार, पनौती नगरपालिकामा दुई करोड ३२ लाख, पाँचखाल नगरपालिकामा ३८ लाख ५० हजार, धुलिखेल नगरपालिकामा ३० लाख ५० हजार रुपियाँ निकाशा गरेको हो । 

मण्डनदेउपुरमा अस्थायी आवासका लागि ३३ लाख २५ हजार, खानीखोला गाउँपालिकामा १३ लाख २५ हजार, चौरीदेउरालीमा ९१ लाख ७५ हजार, रोसी गाउँपालिकामा दुई करोड ५६ लाख रकम निकाशा भएको छ । जिल्लाको बनेपा नगरपालिकामा एक करोड ५० हजार, भुम्लु गाउँपालिकामा १८ लाख २५ हजार, तेमाल गाउँपालिकामा ३५ लाख २५ हजार रकम अस्थायी आवासका लागि निकाशा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया



थप समाचारहरु