बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम


मेचीकाली

काठमाडौं– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । 

राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रमसमेत संसदमा प्रस्तुत गर्नेछन् । नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान  छ । बैठकमा अपराह्न ३ः४५  बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् । 

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको  बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची तय गरिएको छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ । आज दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । दुबै बैठकमा सरकारले यसअघि जारी गरेका विभिन्न अध्यादेशहरु प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया



थप समाचारहरु