काठमाडौं-विगत डेढ दशकदेखि समाजसेवा र राष्ट्रियताको संरक्षण सम्वद्र्धनमा लागेका व्यक्ति हुन् काभ्रेको बनेपा–३ नालाका राजानन्द माण्डव्य । उनको परिचय भने काभ्रे र आसपासका क्षेत्रमा मात्रै सीमित छैन । राष्ट्रिय पोशाक, टोपी दिवस र झण्डा दिवसको संस्थापक तथा सांस्कृतिक अभियान्ताको रुमा देश तथा विदेशमा रहेका नेपालीमाझ पहिचान बनाउन सफल राजानन्द माण्डव्यले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
कनुै पनि राजनीतिक दलको झण्डा नबोकी उनले काठमाडौं क्षेत्र नंवर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको प्रमुखका लागि उनले उम्मेदवारी दिएका थिए । मुलुकमा पछिल्लो समय दलहरुसँग जनताको असन्तुष्टि र दलविरोधी अभियानलाई अझै सशक्त बनाउने उद्देश्यले निर्वाचनमा होमिएको उनले बताए । वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि बुलन्द आवाज उठाउँदै आएका माण्डव्यले सडकमा छोडिएका गाई बाच्छाहरु संरक्षणमा संस्था नै स्थापना गरेर सेवा गर्दै आएका छन् ।
यतिबेला काठमाडौं क्षेत्र नम्बर १ मा दलरहित स्वतन्त्र उमेद्वारी दिएका उनी संसदमा आफुले बोकेका मुद्दालाई स्थापित गर्न निर्वाचनमा होमिएको बताउँछन् । उनको चुनाब चिन्ह भने निर्वाचन आयोगले प्रदान गर्नै बाँकी रहेको छ । यद्यपि आफ्नो चुनावी अभियान भने मनोनयन दर्ताभन्दा अघिदेखि नै चलिरहेको र काठमाडौं १ का सचेत मतदाताले आफ्नो एजेण्डामा समर्थन जनाएर मतदान गर्नेमा विश्वत देखिन्छन् उनी ।