केयुको ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) शुक्रबार, १५२७ जना दीक्षित हुँदै


मेचीकाली

धुलिखेल-काठमाडौं विश्वविद्यालय (केयु)को ३१ औं दीक्षान्त समारोह (दोस्रो चरण) असार १९ गते शुक्रवार हुने भएको छ ।

समारोह शिक्षा तथा खेलकुद मन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न हुनेछ । यस अगाडि कुलपतिसमेत रहका प्रधानमन्त्रीको अध्यक्षतामा समारोह हुने भए पनि यसपटक प्रधानमन्त्रीको उपस्थिति नहुने भएको छ । उपकुलपति हृषीकेश वाग्लेले कुलपतिको समय अभावका कारण सहकुलपतिको अध्यक्षतामा कार्यक्रम हुन लागेको जानकारी दिए ।

समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नुहुनेछ । रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नेछन् भने उपकुलपति प्रा. डा. हृषीकेश वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्ने आज आयोजित पत्रकार सम्मेलनमा केयुका प्रवक्ता डा. उद्धव प्याकुरेलले बताए ।

दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ मेनेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका २०७ गरी जम्मा १,५२७ जना विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुनेमध्ये विद्यावारिधि PhD/DM/MCh तहका २१ जना, MPhil/Master by Research तहका ९३ जना, स्नातकोत्तर तहका २७९ जना, PGDE तहका २ जना तथा स्नातक तहका १,१३२ जना रहेका छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष तथा ७२७ जना (४७.६१ प्रतिशत) महिला रहेका छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका गरी सात देशका १७९ जना विदेशी विद्यार्थी दीक्षित हुनेछन्, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो, यो सङ्ख्या यसअघिको दीक्षान्तको भन्दा झण्डै ५० प्रतिशत बढि हो ।

यसपटक काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलोपटक Bachelor of Technology in Artificial Intelligence कार्यक्रमअन्तर्गत २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ ।


३१ औं दीक्षान्त समारोहको दोस्रो चरण सम्पन्न भएसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१,५६७ जना विद्यार्थी उत्तीर्ण हुनेछन्। तीमध्ये ६,०३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्ण विद्यार्थीको करिब १२ प्रतिशत हो ।

नियमितझै विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक वितरण गर्ने कार्यक्रम रहेको छ । 

१०२ औं सभा सम्पन्न 

यसैबीच काठमाडौं विश्वविद्यालयको १०२ औं सभा माननीय शिक्षा तथा खेलकुदमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा असार १६ गते सम्पन्न भएको छ । सभाले विश्वविद्यालयका विभिन्न नीतिगत तथा शैक्षिक विषयमा आवश्यक निर्णय गर्नुका साथै आगामी ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) सम्बन्धी विषयहरू अनुमोदन गरेको छ ।

सभाबाट विभिन्न स्कुलअन्तर्गत विद्यावारिधि, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेस-लिस्ट स्वीकृत गरिएको छ । साथै, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम र अनुमानित आय-व्यय (बजेट) सम्बन्धी विषयहरू प्रस्तुत तथा पारित गरिएको छ ।

सभामा स्वागत मन्तव्य दिँदै उपकुलपति प्रा. डा. हृषीकेश वाग्लेले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको नयाँ अस्पताल निर्माण प्रक्रिया अन्तर्गत Asian Development Bank (ADB) ले कूल रु. ४ अर्ब लगानी गर्ने सहमति भएको जसमध्ये २ अर्ब अनुदान तथा २ अर्ब सहुलियत ऋणका रूपमा उपलब्ध गराइने र त्यसका लागि ADB द्वारा Due Diligence सम्बन्धी कार्य तथा Detailed Project Report (DPR) तयार गर्ने काम समेत अगाडि बढिसकेको पनि जानकारी गराएका थिए । 

प्रतिक्रिया



थप समाचारहरु