धुलिखेल- काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ।
विश्वभरका ९५ देशका ५०७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो। र्याङ्किङमा विश्वविद्यालयहरूको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचकहरू प्रयोग गरिएको थियो।
यो र्याङ्किङ मुख्यतः दक्षिण एशिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्य सञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको छ।
अमेरिकास्थित र्याङ्किङ संस्था ‘एचई हाइअर एजुकेशन र्याङ्किङ’ले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको छ।
र्याङ्किङ–२०२६ को प्रतिवेदनमा उल्लेख गरिएअनुसार, “सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ। यी पक्षहरूले संस्थालाई केवल आकर्षक शीर्षकभन्दा बढी महत्व दिन्छन्।”
‘एचई उच्च शिक्षा र्याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु हो।
मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँच लगायत रहेका छन्।
शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले र्याङ्किङ तयार गरिएको एचई उच्च शिक्षा र्याङ्किङ संस्थाले बताएको छ ।
काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्याङ्किङ–२०२६’की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको उल्लेख गरेकी छन्।
उनले इमेलमा लेखेकी छन्, “हामीलाई जानकारी गराउँदा खुसी लागेको छ कि काठमाडौँ विश्वविद्यालयले ‘एचई उच्च शिक्षा र्याङ्किङ–२०२६’ मा उल्लेखनीय १२२औँ स्थान हासिल गरेको छ। यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति तपाईंहरूको अटल प्रतिबद्धता झल्काउँछ।”
काठमाडौँ विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा. डा. हेमराज काफ्लेले यो प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए।
उनले भने, “यो विस्तृत प्रतिवेदनले हाम्रो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्वपूर्ण जानकारी दिएको छ। यसले अन्य अन्तर्राष्ट्रिय र्याङ्किङमा सहभागी हुन आवश्यक तथ्यांक सुदृढ गर्न मद्दत पुर्याउनेछ।”