बनेपा-नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष विनोदकुमार न्यौपानेको सभापतित्व एवं केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शर्माले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारहरू अझ सक्रिय बन्नु पर्ने बताईन् । उनले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूको क्षमता विकास र संस्थागत सुदृढीकरण आवश्यक रहेकोमा जोड दिएकी छन् ।
साधारणसभामा सभामा वार्षिक प्रगति प्रतिवेदन सचिब नगेन्द्र अधिकारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशबराज पौड्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्व.भरतराज पत्रकारीता पुरस्कार बाट अग्रज पत्रकार मधुसुधन गुरागाई लाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्लाका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौड्याल, ईश्वरी ओझा, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष राम प्रसाद ढकाल, प्रेस युनियनका सचिव शुभराज अधिकारी, आदिवासी जनजाती महासघंका अध्यक्ष ईन्द्र बहादुर थापा, सञ्चारिका समुह काभ्रे अध्यक्ष सुनिता सापकोटा लगाएतले पत्रकारिताको पेशागत मर्यादा, सञ्चार क्षेत्रका चुनौती, पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता तथा डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बारेमा मन्तव्य राखेका थिए । उपाध्यक्ष कपिल कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव नगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।
साधारणसभाले ८ वुँदे विशेष प्रस्तावसमेत पारित गरेको छ ।
ती प्रस्तावहरु यसप्रकार रहेका छन् :
१. श्रमजीवी पत्रकारहरुको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघको प्रदेश र केन्द्रीय कार्यसमितिलाई स्पष्ट नीति र कानून निर्माण गरी अघि बढ्न अनुरोध गर्ने ।
२. सूचनाको हकलाई अक्षरशः पालना गर्दै समान सूचना प्रदान गर्न सरकारसँग यो साधारणसभा जोडदार माग गर्दछ ।
३. एकद्वार प्रणालीका नाममा मिडियाहरू बन्द गराउने सरकारी कदमको भत्सर्ना गर्दै मिडियामैत्री विज्ञापन नीतिलाई प्रभावकारी बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
४.लोककल्याणकारी विज्ञापन नीतिमा सुधार तथा विज्ञापनवापतको रकम दोब्बर गरी समानुपातिक वितरण गर्ने व्यवस्था मिलाउन यो साधारणसभा जोडदार माग गर्दछ ।
५. सूचना र सञ्चारसँग सम्बन्धीत निकायका पदाधिकारीको निलम्बन र बर्खास्ती गर्ने प्रक्रिया तत्काल बन्द गर्न यो साधारणसभा माग गर्दछ ।
६. सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पुर्ण सरोकारवालाको उपस्थितिमा सर्वपक्षीय भेला गर्दै संविधान प्रदत्त हक, अधिकार र सुरक्षा स्थापित हुनेगरी कानुन निर्माणको पहलकदमी गर्न नेपाल पत्रकार महासंघलाई यो साधारणसभा अनुरोध गर्दछ ।
७. काभ्रेपलाञ्चोकका सम्पूर्ण स्थानीय तह र सरकारी निकायलाई लोककल्याणकारी विज्ञापन÷सूचनाहरू काभ्रेपलाञ्चोकमा सञ्चालित सम्पूर्ण मिडियाहरूलाई समानुपातिक वितरण गर्न यो साधारणसभा माग गर्दछ ।
८. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता, प्रेससम्बन्धी संकुचन, नियन्त्रण र कानुन संशोधन जस्ता संविधान र सञ्चार विरोधी गतिविधिप्रति गरेका आन्दोलनमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक ऐक्यबद्धता जनाउँदछ । साथै आन्दोलनका कार्यक्रममा सक्रियतापुर्वक सहभागिता जनाउन सम्पूर्ण सरोकारवालामा यो साधारणसभा आह्वान गर्दछ ।