धुलिखेल–बर्डफ्लु रोकथामका लागि चेकजाँच कडा बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज धुलिखेलमा आयोजित छलफलका सहभागीहरुले चेकजाँच र निगरानी बढाउन सके काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून हुने बताए । केही जिल्लामा रहेका कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि पशुसेवा कार्यालय काभ्रेले आज सरोकारवालाहरुबीच छलफल आयोजना गरेको थियो । छलफल पछि काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको छ । काठमाडौं तथा देशका अन्य केही स्थानमा पालिएका कुखुरामा संक्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने अनुमानका आधारमा सुरक्षा उपाय कडा पार्न लागिएको हो।
सीमा नाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पंक्षी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ। विशेषगरी तराई क्षेत्रबाट काभ्रे प्रवेश गर्ने मुख्य नाका मंगलटारमा कडाइका साथ चेकजाँच गरिनेछ। साथै साँगा, नाला लगायत काठमाडौं उपत्यकाबाट काभ्रे र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने भएको छ।
यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमका अनुसार परीक्षण नगरिएका कुखुरा तथा पंक्षीहरू जिल्लामा भित्रने गरेको पाइएको छ। केही अवस्थामा भेटेरिनरी परीक्षणका कागज देखाइए पनि वास्तविक परीक्षण नहुने गरेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलटार नाकामा कडाइका साथ जाँच आवश्यक रहेको उल्लेख गर्दै त्यहाँ प्राविधिक जनशक्ति राख्न सके निगरानी अझ प्रभावकारी हुने बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले पूर्वी क्षेत्रबाट आउने कुखुराको नमुना तत्काल परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । आवश्यक निगरानी र चेकजाँचमा प्रहरी प्रशासन पूर्ण रूपमा तयार रहेको उनले बताए ।
पोल्ट्री व्यवसायीहरूले सीमा नाकाहरूमा क्वारेन्टाइन व्यवस्था सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पशुसेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोगको प्रकृति, यसको प्रभाव तथा रोकथामका उपायबारे जानकारी गराउँदै रोग प्रवेश हुन नदिन कार्यालयले गरिरहेको तयारीबारे प्रकाश पारेका थिए ।