कोपन्हेगन, डेनमार्क । लेखक प्रकाश सापकोटाद्वारा लिखित नवीनतम उपन्यास "विरक्त बाटो" डेनमार्कमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरको आयोजनामा शनिबार कोपन्हेगनमा आयोजित साहित्यिक कार्यक्रमका बिच विशिष्ठ साहित्यकार केशव नेपालले सो उपन्यास विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि नेपालले विरक्त बाटो सामाजिक यथार्थवादी उपन्यास भएको बताउँदै पात्रहरूका समस्या र संघर्षलाई उपन्यासकारले कौतुहलमय तरिकाले आकर्षक कथानक बुनेका उल्लेख गर्नुभयो । हरेक पात्रका उपस्थिति र मूख्य भूमिकाको टिप्पणी गर्दै लेखकले अँध्यारोबाट उज्यालो तिरको बाटो पनि देखाउनुपर्ने चर्चा गर्नुभयो ।
डेनमार्क निवासी लेखक कृष्ण पौडेलले उपन्यासकार सापकोटाको कलात्मक लेखन शैलीबाट आफू प्रभावित भएको र प्रवासको व्यस्तताका वावजुद उपन्यास जस्तो गहन र गहकिलो किताब लिएर आउने जटिल काम गरेकोमा प्रशंसा गर्नुभयो । उपन्यासको कथावस्तुले कुनै समय आफू बसेको स्विडेनको परिवेश पनि जोडेकोले त्यहाँको भूगोल र वातावरणीय परिदृश्यलाई यथार्थपरक बनाउन लेख्दालेख्दै सापकोटालाई आफूले सल्लाह र सुझाव दिएको स्मरण गर्नुभयो ।
प्रकाशक शिखा बुक्सको समेत प्रतिनिधित्व गर्नुभएका साहित्यानुरागी नविनराज पौडेलले उपन्यासको कथावस्तुले पाठकलाई बाँधेर राख्ने, उत्सुकता जगाइरहने र प्रतिकात्मक भएर पनि सरल भाषाशैलीको प्रयोगले "विरक्त बाटो" उत्कृष्ट उपन्यास भएको चर्चा गर्दै अत्यन्तै प्रभावशाली उपन्यास लेखेका सापकोटालाई लेखनको निरन्तरताका लागि शुभकामना दिनुभयो ।
अनेसास केन्द्रकी भूतपूर्व उपाध्यक्ष सिता बरालले उपन्यास हात पर्नासाथ कलात्मक आवरण नै एउटा अर्थपूर्ण कथा बताउने खालको भएको बताउँदै उपन्यास झन कति अर्थपूर्ण होला भन्ने जिज्ञासा जागेको र पढ्न आतुर भएको बताउनुभयो ।
उपन्यासकार सापकोटाले आफ्नो साहित्यिक लेखकीय पृष्ठभूमि व्याख्या गर्दै उपन्यास लेखनदेखि प्रकाशनसम्म आफूलाई सहयोग, सुझाव, हौसला र साथ दिने सम्बन्धित सम्पूर्ण व्यक्ति र संस्थाहरूलाई धन्यवाद दिनुभयो ।
उपन्यासबारे बोल्दा आफ्नै वरिपरि घटेको घटना जस्तो महसुस भएर भावनामा चुर्लुम्मै डुबेको कुरा अभिव्यक्त गर्दागर्दै उपन्यास पढिसकेका घनश्याम गौतम आँखाभरि आँसु पार्दै भक्कानिनु भयो भने कौशिला सापकोटाले एक रातमा आधा पढेर बन्द गरेको उपन्यासको कथानकले खुल्दुली बढाएर भोलिपल्ट कामको बिच बिचमा निस्केको फुर्सदमा पढेर सिध्याएको र कथाले निकै मन छोएको बताउनुभयो । कार्यक्रममा उपस्थित साहित्यानुरागीहरू कल्याण काफ्ले, कृष्ण सागर, प्रभात किरण, शैलु अधिकारी, रोशन खतिवडा लगायतले पढेकाहरूको समिक्षाले उपन्यासप्रतिको उत्सुकता झन बढाएकोले अविलम्ब पढेर प्रतिक्रिया दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका सभापति अनेसास डेनमार्क च्याप्टरका अध्यक्ष पूर्ण वस्नेतले उपन्यासका केहि घटनाहरूले मुटु नै गह्रुङ्गो हुने गरी ढक्क फुलाउने बताउनुभयो । कार्यक्रमका सहजकर्ता अनेसास डेनमार्क च्याप्टरका सदस्य दीपककुमार तिवारीले उपन्यास रहस्यमय तरिकाले टुङ्गिएकोले यसको अर्को भाग पनि आउने हो कि भन्ने जिज्ञासा राख्नुभयो ।
शिखा बुक्सले प्रकाशित गरेको "विरक्त बाटो" डेनमार्क निवासी लेखक प्रकाश सापकोटाको प्रकाशित छैठौँ कृति र दोश्रो उपन्यास हो ।