काभ्रे–काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शुन्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक पतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शुन्य रहेको थियो ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महभारत गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । त्यसमा एक रुपैयाँ पनि बेरुजु नदेखिएको हो । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पनि नगण्यामात्रामा बेरुजु देखिएको छ । यो पालिकामा १ अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा शुन्य दशमलव शुन्य पाँच प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।
जिल्लामा सबैभन्दा बढी बेरुजु पनौती नगरपालिकामा देखिएको छ । पनौती नगरपालिकामा २ अर्ब ५३ करोड ७९ लाख ९९ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा ३ दशमलव शुन्य ४ प्रतिशत अर्थात् ७ करोड ७० लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । पनौती पछि बढी बेरुजु नमोबुद्ध नगरपालिकामा देखिएको छ । नमोबुद्ध नगरपालिकामा १ अर्ब ८४ करोड ३६ लाख ४१ हजार रुपैयाँको लेखापरिक्षण हुँदा १ दशमलव ३८ प्रतिशत अर्थात् २ करोड ५४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । अन्य पालिकाको भने एक प्रतिशत भन्दा कम बेरुजु देखिएको छ । जसअनुसार बनेपा नगरपालिकामा १ अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैयाँको लखापरिक्षण हुँदा १ करोड १२ लाख ७७ हजार रुपैयाँ अर्थात् शुन्य दशमलव ७१ प्रतिशत रकम बेरुजु देखिएको छ ।
यसैगरी धुलिखेल नगरपालिकामा २ अर्ब १ करोड ७५ लाख ८६ हजारको लेखा परिक्षण हुँदा शुन्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकामा बेरुजु रकम १करोड ३७ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै भुम्लु गाउँपालिकामा पनि शुन्य दशमलव ६८ प्रतिशत रकम बेरुजु देखिएको छ । भुम्लुमा १ अर्ब ४१ करोड ९३ लाख १९ हजारको लेखापरिक्षण हुँदा ९४ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ । काभ्रेकै रोशी गाउँपालिकामा १ अर्ब ७६ करोड ५७ लाख ७९ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शुन्य दशमलव ६२ प्रतिशत अर्थात् १ करोड १० लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यसैगरी खानीखोला गाउँपालिकामा ८६ करोड ९५ लाख ५१ हजारको लेखापरिक्षण हुँदा शुन्य दशमलव ५८ प्रतिशत अर्थात ५० लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै बेथानचोक गाउँपालिकामा शुन्य दशमलव ५५ प्रतिशत बेरुजु देखिएको छ । यहाँ १ अर्ब ४७ करोड ८८ लाख ४८ हजार रुपैयाँको लेखापरिक्षण हुँदा ८१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । तेमाल गाउँपालिकामा १ अर्ब ३२ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शुन्य दशमलव ५ प्रतिशत अर्थात ६५ लाख ९३ हजार बेरुजु देखिएको छ ।
यस्तै चौरी देउराली गाउँपालिकामा १ अर्ब ४३ करोड ७५ लाख ७ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शुन्य दशमलव १८ प्रतिशत अर्थात् २५ लाख ५८ हजार बेरुजु देखिएको छ । पाँचखाल नगरपालिकामा शुन्य दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । पाँचखालमा १ अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरिक्षण हुँदा १८ लाख ३२ हजार मात्रै बेरुजु देखिएको छ ।