विश्वकपको रोमाञ्च बनेपामा, ‘बीएफए इन्टरनल वर्ल्डकप’ सुरु


मेचीकाली

बनेपा- विश्व फुटबलको महाकुम्भ सुरु भएसँगै त्यसको उत्साह काभ्रेको बनेपामा पनि देखिएको छ । टेलिभिजनको पर्दामा मात्र होइन, अब विश्वकपको माहोल स्थानीय फुटबल मैदानमै देखिन थालेको छ। बनेपा फुटबल एकेडेमीले बालबालिकालाई विश्वकपको अनुभूति दिलाउने उद्देश्यसहित ‘बीएफए इन्टरनल वर्ल्डकप’ प्रतियोगिता शनिबारदेखि सुरु गरेको हो।

प्रतियोगिताको विशेषता भनेकै सहभागी टोलीलाई विश्वकप खेल्ने राष्ट्रहरूको नाम दिइनु हो। मैदानमा जब ‘अर्जेन्टिना’ र ‘पोर्चुगल’ भिड्छन्, दर्शकले केही क्षणका लागि भए पनि आफू स्थानीय प्रतियोगिता नभई विश्वकपकै कुनै खेल हेर्दै गरेको अनुभूति गर्न सक्छन्। एकेडेमीका साथै विभिन्न विद्यालयका बालबालिका प्रतियोगितामा सहभागी छन्। छात्रा सिनियरतर्फ बनेपा फुटबल एकेडेमीले पोर्चुगल, एसओएसले अर्जेन्टिना, बेलरले ब्राजिल र प्रगति स्कुलले इङ्ग्ल्याण्डको प्रतिनिधित्व गरिरहेका छन्।

त्यस्तै छात्र सिनियरतर्फ बनेपा फुटबल एकेडेमी ‘ए’ जर्मनी, बनेपा फुटबल एकेडेमी ‘बी’ नेदरल्याण्ड्स, समता स्कुल बेल्जियम र एसओएस अर्जेन्टिनाको नामबाट प्रतिस्पर्धामा उत्रिएका छन्। साना उमेर समूहलाई पनि प्रतियोगितामा समेटिएको छ। छात्रा यु–१० र यु–१२ तथा छात्र यु–८ र यु–१० समूहमा बनेपा फुटबल एकेडेमी पोर्चुगल र एसओएस अर्जेन्टिनाको नामबाट प्रतिस्पर्धा भइरहेको छ। यसले बालबालिकालाई खेलसँगै विश्व फुटबलका चर्चित राष्ट्र र उनीहरूको पहिचानबारे पनि जानकारी गराउने विश्वास आयोजकको छ।

एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रत्येक साताको शनिबार र आइतबार बिहान खेलहरू सञ्चालन गरिने एकेडेमीका उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै खेललाई रमाइलो र सिकाइसँग जोड्नु हो।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) बागमती प्रदेशका अध्यक्ष निरोज श्रेष्ठले गरेका थिए। बनेपा फुटबल एकेडेमीका अध्यक्ष निरोज शाक्यको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा खेलकुदकर्मी, अभिभावक तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। काभ्रेमा फूटबल खेलको विकास गर्ने उद्देश्यसहित एकेडेमीले केही बर्षदेखि नियमितरुपमा बालबालिकालाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा बस दुर्घटना, ८ जनाको निधन