बेथानचोकमा तीन महिने नेपाल भाषा प्रशिक्षण सुरु


बेथानचोकमा तीन महिने नेपाल भाषा प्रशिक्षण सुरु
मेचीकाली , 

बेथानचोक-काभ्रेको बेथानचोक गाउँपालिकामा नेवा: समुदायको मातृभाषा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।

भिम:देव:नेवा:समाज बेथानचोकको आयोजनामा गाउँपालिकाभित्र बसोबास गर्ने नेवा: समुदायलाई लक्षित गरी सञ्चालन गर्न लागिएको प्रशिक्षण कार्यक्रम शनिबार एक समारोहबीच शुभारम्भ गरिएको हो।

भिम:देव:नेवा:समाजको प्राङ्गणमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू कृष्णबहादुर लामा र कुबेर ढकाल, जनजाति महासंघ बेथानचोकका अध्यक्ष हरिचन्द्र वाइवा, नेवा: देय् दबु जिल्ला कार्यसमितिका अध्यक्ष निवास श्रेष्ठ, पनौती नगर अध्यक्ष पुरुषोत्तम कर्माचार्य, बनेपा नगर अध्यक्ष बुद्धरत्न मानन्धरलगायतको उपस्थिति थियो।

त्यसैगरी बेथानचोक गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष शिवशरण श्रेष्ठ, सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष प्रेमप्रसाद श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

कार्यक्रममा बोल्ने अतिथिहरूले मातृभाषा कुनै पनि समुदायको मौलिक पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए। विशेषगरी नयाँ पुस्तामा नेपाल भाषाको ज्ञान हस्तान्तरण गर्न यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।

नेपाल भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि संस्थाले गरेको पहलको प्रशंसा गर्दै अतिथिहरूले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा भिं:द्यं: धिमे तथा बाँसुरी खलका भाइबहिनीहरूले प्रस्तुत गरेको सांगीतिक प्रस्तुतिले समारोहलाई थप सांस्कृतिक र आकर्षक बनाएको थियो। संस्थाका अध्यक्ष रामहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका छवि श्रेष्ठले सञ्चालन गरेका थिए।

नेवा: समुदायको भाषा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यसहित सुरु गरिएको तीन महिने प्रशिक्षणले बेथानचोकमा नेपाल भाषाको प्रयोग विस्तार गर्न तथा नयाँ पुस्तालाई आफ्नो मातृभाषाप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु