चैत पहिलो साताभित्र स्थानीय चुनाव गराउन छलफल तीब्र


चैत पहिलो साताभित्र स्थानीय चुनाव गराउन छलफल तीब्र
मेचीकाली , 

काठमाडौं-स्थानीय तहको निर्वाचन चैतको पहिलो साताभित्र गराउने गरी निर्वाचन आयोगले सरकारसँग छलफल अघि बढाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा गराउन आयोगले पहल थालेको हो।

यसैक्रममा आयोगका पदाधिकारीले शनिबार गृहमन्त्री सुधन गुरुङसँग निर्वाचन तयारीबारे छलफल गरेका छन्। छलफलमा आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा चार महिना आवश्यक पर्ने भन्दै तत्काल मिति तोक्न सरकारलाई आग्रह गरेको छ।

आयोगले चैतमा निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ। त्यसका लागि सरकारले ढिलाइ नगरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने आयोगको जोड छ।

प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। त्यसअघि नै प्रधानमन्त्रीसँग भेटेर निर्वाचनको मिति तय गर्न आयोगले चाहेको छ। यसअघि गृहमन्त्रीसँग छलफल गरेको आयोगले अब प्रधानमन्त्रीसमक्ष आफ्नो प्रस्ताव राख्ने तयारी गरेको हो।

निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत सहभागी गराउने विषयमा गृहमन्त्री गुरुङ सकारात्मक देखिएका छन्। अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी तथा प्राविधिक अवरोध हटाउन सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

गृहमन्त्री यूएई भ्रमणबाट फर्किएपछि यस विषयमा थप छलफल हुनेछ।

यसैगरी आयोगले निर्वाचनको मिति र तयारीबारे राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने भएको छ। संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलसँग मंसिर ४ गते छलफल तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। कानुनी व्यवस्थाअनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ। यही व्यवस्थालाई ध्यानमा राख्दै आयोगले चैतको पहिलो साताभित्र निर्वाचन गराउने गरी सरकारलाई तयारीबारे जानकारी गराएको हो।

प्रतिक्रिया



थप समाचारहरु