अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व मनाइँदै


अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व मनाइँदै
मेचीकाली , 

काठमाडौं । सूर्यदेवप्रति आस्था र समर्पण व्यक्त गर्दै मनाइने छठ पर्वको मुख्य दिन आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वमा आज व्रतालुहरूले दिनभर निराहार उपवास बसेर साँझ जलाशय तथा नदी किनारमा पुगेर सूर्यदेवको पूजा आराधना गर्नेछन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। यस पर्वमा सूर्यदेवसँगै छठी माताको पूजा गरिन्छ। परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण र मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरू व्रत बस्ने गर्छन्।

छठ पर्वको धार्मिक सम्बन्ध महाभारत र विभिन्न पुराणसँग जोडिएको छ। महाभारतमा पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेको प्रसंग उल्लेख छ। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेको उल्लेख पाइन्छ।

यस पर्वमा सूर्यलाई जीवन र ऊर्जाको प्रमुख स्रोतका रूपमा पूजा गर्ने परम्परा छ। सूर्यको प्रकाशबाट सम्पूर्ण वनस्पति र प्राणी जगतको अस्तित्व सम्भव हुने धार्मिक तथा सांस्कृतिक मान्यता छ। छठमा सूर्यको उपासना गर्दा रोगव्याधि हट्ने, दुःख र दरिद्रताबाट मुक्ति मिल्ने तथा परिवारमा सुखसमृद्धि आउने जनविश्वास छ।

छठको पहिलो दिन चतुर्थीमा स्नान गरी शुद्ध भोजन गर्ने परम्परा छ। दोस्रो दिन पञ्चमीमा खरना विधि गरिन्छ। यस दिन व्रतालुले सखरबाट बनाइएको खीर छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्छन्। त्यसपछि सुरु हुने कठोर निराहार व्रत मुख्य दिनको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर निरन्तरता दिइन्छ।

षष्ठीको रात जाग्राम बसेर सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ।

पहिले तराईका सीमित क्षेत्रमा बढी प्रचलित छठ पर्व पछिल्लो समय देशभर विस्तार भएको छ। राजधानी काठमाडौंसहित विभिन्न सहरमा नदी, पोखरी तथा जलाशयका किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ। काठमाडौंको गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी र कमलपोखरीलगायत स्थानमा श्रद्धालुहरूको भीड लाग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु