काभ्रे । भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सीमा क्षेत्र साँगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया किशोरीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब साढे ३ बजे सूर्यविनायक नगरपालिका–१० साँगामा बनेपाबाट काठमाडौं जाँदै गरेको बसले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बागमती प्रदेश ०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बसले सरकारी नम्बर प्लेटको बागमती प्रदेश ०२–००१ ब २३६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङकी करिब १४ वर्षीया भूमिका राई गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले दिउँसो ३ बजेर ५८ मिनेटमा मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङकै २२ वर्षीय रोशन राई सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार प्रहरीले बस, मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।