न्याय पाइन् ममताले, नरेश भट्ट दोषी ठहर


न्याय पाइन् ममताले, नरेश भट्ट दोषी ठहर
मेचीकाली , 

काठमाडौं-अमेरिकामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनिया राज्यको अदालतमा मंगलबार भएको सुनुवाइमा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो।

३९ वर्षीय भट्टलाई श्रीमतीको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत दोषी ठहर गरिएको छ। सन् २०२४ जुलाईमा ममता बेपत्ता भएपछि सुरु भएको अनुसन्धान र लामो कानुनी प्रक्रियापछि अदालतबाट यस्तो फैसला आएको हो। 

अदालतमा बयान दिने क्रममा भट्टले सन् २०२४ जुलाई ३० मा शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको र आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म बचाउने प्रयास गरेको दाबी गरेका थिए। तर सफल नभएपछि डरका कारण आराले शव टुक्राटुक्रा पारेर फोहोरका झोलामा राखी विभिन्न स्थानमा फालेको उनले स्वीकार गरेका थिए। यद्यपि उनले ममताको हत्या गरेको आरोप अस्वीकार गर्दै आत्महत्या गरेको दाबी गरेका थिए।

अभियोजन पक्षले भने भट्टले नै ममताको हत्या गरी शव नष्ट गरेको जिकिर गरेको थियो। प्रमाणका रूपमा प्रहरीले आरामा भेटिएका रगतका दाग र कपाल, शयनकक्षको कार्पेटमा भेटिएको रगत, सीसीटीभी फुटेज, फोन र सवारीसाधनको विवरण तथा डिजिटल खोजीका तथ्य प्रस्तुत गरेको थियो। आरामा भेटिएको जैविक नमुनाको डीएनए ममताको डीएनएसँग मेल खाएको परीक्षणबाट देखिएको थियो। 

मुद्दाको सुनुवाइका क्रममा ममताका आफन्तले उनीमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित महसुस गर्ने गरेको बताउने गरेको तथ्यसमेत अदालतमा प्रस्तुत गरेका थिए। भट्टले ममता बेपत्ता भएको घटनाबारे आफन्त, साथीभाइ र प्रहरीलाई झुटो विवरण दिएको पनि स्वीकार गरेका थिए।

भट्टलाई प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्नेछ। शव लुकाउने र अपमान गर्ने दुई अभियोगमा थप पाँच–पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ। उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ। फैसला आएलगत्तै अदालतले उनको धरौटीसमेत रद्द गरेको छ। 

नेपालबाट अमेरिका पुगेकी ममता पेशाले नर्स थिइन्। उनी सन् २०२४ जुलाईमा सम्पर्कविहीन भएकी थिइन्। काममा जान छाडेपछि उनी बेपत्ता भएको विषय सार्वजनिक भएको थियो। सुरुमा भट्टले उनी घर छाडेर गएको बताएका थिए।

ममताको शव भने अहिलेसम्म फेला परेको छैन। भट्टले नै शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको स्वीकार गरे पनि परिवारले उनको अन्तिम संस्कारसमेत गर्न पाएको छैन। घटनाले अमेरिका र नेपालका नेपाली समुदायमा व्यापक चर्चा र आक्रोश पैदा गरेको थियो।

ममताका साथीहरूको प्रतिक्रिया : ‘अब हामी शान्तिसँग सुत्न सक्छौँ’

अदालतबाहिर भेला भएका ममताका साथी तथा नेपाली समुदायका सदस्यहरूले फैसला सार्वजनिक भएपछि खुसी र भावुक प्रतिक्रिया दिएका थिए। उनीहरूले लामो समयदेखि ममताका लागि न्यायको आवाज उठाउँदै आएको र अदालतको निर्णयले आफूहरूलाई ठूलो राहत दिएको बताएका छन्।

ममताकी निकट साथी तथा पूर्वसहकर्मी होली विर्थले फैसलापछि प्रहरी र अभियोजन पक्षलाई धन्यवाद दिँदै ममताका लागि आफूहरूले सुरुदेखि नै आवाज उठाएको बताइन्। उनका अनुसार ममताबारे केही गलत भइरहेको छ भन्ने आफूहरूलाई लागेको थियो र त्यसलाई बेवास्ता नगरी निरन्तर आवाज उठाइएको थियो।

उनले ममताकी छोरीलाई आमाले कति माया गर्थिन् भन्ने कुरा भविष्यमा पनि सम्झाइरहने र उनलाई राम्रो जीवन दिन आफूहरू प्रतिबद्ध रहेको बताएकी छन्।

त्यस्तै, ममताकी अर्की निकट साथी तथा पूर्वसहकर्मी सुनीता बस्नेतले फैसलालाई महत्वपूर्ण दिनका रूपमा व्याख्या गरिन्। उनले न्यायिक निर्णयबाट खुसी भए पनि नेपाली समुदायमा घरेलु हिंसाविरुद्ध अझै धेरै काम गर्न बाँकी रहेको बताइन्।

उनले ममताजस्तै हिंसा र धम्कीको जोखिममा रहेका छोरी, श्रीमती तथा आमाहरूको सुरक्षाका लागि समाज गम्भीर हुनुपर्नेमा जोड दिएकी छन्। हरेक महिलाले सम्मानपूर्वक र सुरक्षित रूपमा बाँच्न पाउनुपर्ने उनको भनाइ थियो। 


घरेलु हिंसाविरुद्ध आवाज उठाउन समुदायलाई आग्रह

ममता प्रकरणले अमेरिकामा रहेका नेपाली समुदायलाई घरेलु हिंसा, पारिवारिक सम्बन्धमा हुने दुर्व्यवहार र महिलाको सुरक्षाबारे पुनः गम्भीर बहस गर्न बाध्य बनाएको छ।

ममताका साथीहरूले उनीमाथि वैवाहिक सम्बन्धमा समस्या रहेको र आफू असुरक्षित महसुस गर्ने गरेको बताएका थिए। उनका दाजु महेश काफ्लेले पनि अदालतमा बहिनीले अनुहारमा चोट देखिने तस्बिर पठाएको र आफू असुरक्षित रहेको बताएको बयान दिएका थिए। 

अदालतको फैसलाले ममताको परिवार र समर्थकलाई केही राहत दिए पनि उनको शव अझै फेला परेको छैन। त्यसैले परिवारले अन्तिम संस्कारसमेत गर्न पाएको छैन।

नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव लुकाएको र अपमान गरेको अभियोगमा थप सजायको व्यवस्था छ। उनको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकिएको छ। 

ममताको हत्या प्रकरण अब केवल एउटा परिवारको न्यायको लडाइँमा सीमित रहेन। यसले नेपाली समुदायभित्र घरेलु हिंसाविरुद्ध सचेतना, पीडितलाई समयमै सहयोग र महिलाको सुरक्षाका लागि सामूहिक जिम्मेवारीको प्रश्नसमेत उठाएको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

तिहारभरि काभ्रेमा टिपर चलाउन नपाइने !