दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाएर मनाइँदै भाइटीका


दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाएर मनाइँदै भाइटीका
मेचीकाली , 

काठमाडौं । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र आपसी सम्बन्धलाई प्रगाढ बनाउने पर्व भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्दै निधारमा टीका लगाइदिएर यो पर्व मनाउने परम्परा छ।

धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा आशीर्वाद साटासाट गर्छन्। यसले पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ।

भाइटीकाका लागि आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यद्यपि, टीका दिनभर लगाउन सकिने समितिको भनाइ छ। राज्य सञ्चालकहरूले भने शुभसाइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्नेछ।

भाइटीकाको विधिअनुसार दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिन्छन्। त्यसपछि मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने चलन छ।

सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक रहे पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। टीका ग्रहणपछि दाजुभाइले पनि आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई कपडा, दक्षिणा तथा अन्य उपहार दिएर सम्मान प्रकट गर्छन्।

भाइटीकाको दिनलाई नेवार समुदायले ‘किजापूजा’का रूपमा मनाउने परम्परा छ। यद्यपि, कुल परम्परा र स्थानीय चलनअनुसार किजापूजा गर्ने दिन फरक हुन सक्छ। भक्तपुरका अधिकांश नेवार समुदायले भने तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार हिजो नै किजापूजा सम्पन्न गरेका छन्।

यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक सद्भावको संगमका रूपमा रहेको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई नवीकरण र थप आत्मीय बनाउने सन्देश दिन्छ।

प्रतिक्रिया



थप समाचारहरु

 

तिहारभरि काभ्रेमा टिपर चलाउन नपाइने !