भोटेकोशी बाढीका बेपत्ताको विवरण कात्तिक १८ भित्र बुझाउन निर्देशन


मेचीकाली , 

काभ्रे- गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरण गर्न स्थानीय तहलाई समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बेपत्ता व्यक्तिको पहिचान, विवरण प्रमाणीकरण र दाबी विरोधको प्रक्रिया पूरा गरी आगामी कात्तिक १८ गतेभित्र अन्तिम विवरण बुझाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिन गर्न अपनाउनुपर्ने प्रक्रिया र समयसीमा निर्धारण गरेको हो। बैठकले विवरण संकलनदेखि अन्तिम प्रमाणीकरणसम्मका सबै प्रक्रिया तत्काल अघि बढाउन स्थानीय तहलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार सम्बन्धित स्थानीय तहले बेपत्ता व्यक्तिका परिवारलाई निवेदन दिन पाँच दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। परिवारका सदस्यले बेपत्ता व्यक्तिको सरकारी कागजात, नाता प्रमाणित हुने कागजात र बाढीमा बेपत्ता भएको स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा भने वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी निवेदन प्रक्रिया अघि बढाउनुपर्नेछ। वडामा प्राप्त निवेदनमाथि वडा समितिले तत्काल जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नुपर्नेछ। सोही समितिले आवश्यक अध्ययनपछि बेपत्ता व्यक्तिको विवरण एकिन गर्ने निर्णय गर्नेछ।

यसरी एकिन गरिएका व्यक्तिको विवरणमाथि दाबी विरोधका लागि स्थानीय तहले तीन दिनको समय दिएर सार्वजनिक सूची प्रकाशन गर्नुपर्नेछ। प्रकाशित सूचीमा दाबी विरोध परेमा त्यसको तीन दिनभित्र थप जाँचबुझ गरी अन्तिम विवरण तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ। त्यसपछि सम्बन्धित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा प्रमाणित विवरण पठाउनुपर्नेछ।

स्थानीय तहबाट सिफारिस भई आएको विवरण जिल्ला प्रशासन कार्यालयले पाँच दिनभित्र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट निर्णय गराई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेशको विपद् हेर्ने मन्त्रालयमा पठाउनेछ।

बैठकले सम्पूर्ण स्थानीय तहलाई निर्धारित समयभित्र विवरण संकलन, प्रमाणीकरण र दाबी विरोधको प्रक्रिया पूरा गरी कात्तिक १८ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा अन्तिम विवरण बुझाइसक्न निर्देशन दिएको छ।

बैठकमा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी तथा रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया



थप समाचारहरु