सुरु भयो बडादशैं, आज घटस्थापना


मेचीकाली , 

काभ्रे-यस वर्षको बडादशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखेसँगै १५ दिनसम्म मनाइने दशैँ पर्वको औपचारिक सुरुआत भएको हो।

घटस्थापनाका अवसरमा आज बिहान दियो, कलश र गणेश स्थापना गरी नवदुर्गा भवानीको आह्वानसहित पूजा आराधना गरिँदैछ। वैदिक विधिअनुसार पूजा कोठा वा दशैँघरमा जमरा राखेर नवरात्रको पूजा सुरु गर्ने परम्परा छ।

घटस्थापनाका दिन चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ रोपेर जमरा राख्ने गरिन्छ। गाईको गोबरले लिपपोत गरी शुद्ध बनाइएको स्थानमा जमरा राखेर नौ दिनसम्म देवी दुर्गाको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ। नवरात्रभर नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ। विजयादशमीका दिन देवीको विसर्जनपछि मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरी आशीर्वाद लिने चलन छ।

यस वर्ष असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते आइतबार महाअष्टमी तथा सोही राति कालरात्रि पर्व परेको छ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको छ भने कात्तिक ३ गते मङ्गलबार महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ।

दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहलपहल बढ्न थालेको छ। पर्वका लागि आवश्यक सामग्री खरिद गर्ने, घरको सरसफाइ गर्ने र आफन्तसँग भेटघाटको तयारी गर्ने क्रम पनि तीव्र बन्दै गएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडादशैँ नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आशीर्वाद आदानप्रदानको पर्वका रूपमा मनाइँदै आएको छ।

प्रतिक्रिया



थप समाचारहरु