भक्तपुरमा शिक्षक इ–पेन्सन प्रणाली सुरुवात


मेचीकाली , 

भक्तपुर-शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरले शिक्षकहरूको निवृत्तिभरणसम्बन्धी सेवा प्रक्रियालाई सरल, सहज, छिटोछरितो तथा प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षक इ–पेन्सन प्रणालीको शुभारम्भ गरि सेवा प्रवाहमा प्रविधिको प्रयोग, सुशासनमा नयाँ कदमको सुरुवात  गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ, भक्तपुरका प्रमुख सरिता देवी शर्माका अनुसार शिक्षक कार्यरत रहेको सम्बन्धित जिल्लाका इकाइबाट शिक्षकका सम्पूर्ण फाइल रुजु गरी आवश्यक विवरण राष्ट्रिय किताबखाना (शिक्षक)को प्रणालीमा अद्यावधिक गरिनेछ। राष्ट्रिय किताबखाना (शिक्षक)ले उक्त विवरणको आवश्यक जाँच तथा यकिन गरी नियमानुसार सेवा–सुविधा सम्बन्धी निर्णय गर्नेछ। त्यसपछि निर्णयसँग सम्बन्धित कागजात प्रणालीमार्फत पुनः सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा उपलब्ध गराइने र एकाइले सम्बन्धित शिक्षकलाई आवश्यक कागजात उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो।यसले शिक्षकहरूको समय, श्रम र खर्चको बचत गर्नुका साथै सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र प्रविधिको प्रयोगलाई थप मजबुत बनाउने विश्वास समेत  व्यक्त गर्नुभयो ।

उहाँले भन्नुहुन्छ - “शिक्षकले आफ्नो सेवाकालमा विद्यार्थी, विद्यालय र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिनुभएको हुन्छ। त्यसैले अवकाशपछि उहाँहरूले आफ्नो सेवा–सुविधा प्राप्त गर्नका लागि र्कार्यालय–कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सरल, सहज र प्रविधिमैत्री सेवा दिनु हाम्रो प्राथमिकता हो।”

यस ऐतिहासिक सेवाको पहिलो लाभान्वित व्यक्तिका रूपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका शिक्षक श्री जगत्कृष्ण सामाज्यू रहनुभएको छ। त्यसैगरी श्री कटुन्जे आधारभूत विद्यालयका शिक्षक कुन्ति थापा यस प्रणालीबाट लाभान्वित हुने दोस्रो व्यक्ति बन्नु भएको छ।

इ–पेन्सन प्रणालीबाट सेवा लिँदा “अवकाशपछि पनि कार्यालय–कार्यालय धाउनुपर्ने हो कि?” भन्ने चिन्ता हटेको छ। प्रविधिको माध्यमबाट हाम्रो विवरण र कागजात सम्बन्धित निकायमा पुग्ने र आवश्यक निर्णय तथा कागजात पुनः सम्बन्धित जिल्लाबाटै प्राप्त हुने व्यवस्थाले सेवा प्रवाहप्रतिको विश्वास अझ बढाएको छ। यो केवल पेन्सन प्राप्त गर्ने नयाँ प्रविधि मात्र होइन, शिक्षकको समय, श्रम र सम्मानको कदर गर्ने सुशासनको नयाँ अभ्यास हो भनि कुन्ती थापाले खुसी र धन्यवाद व्यक्त गर्नुभयो।

वर्षौँसम्म विद्यालयमा रहेर राष्ट्रको भविष्य निर्माण गर्ने जिम्मेवारी पूरा गरेपछि अवकाशको समय आउँदा मनमा एकातिर लामो सेवायात्रा पूरा गरेको सन्तुष्टि हुन्छ भने अर्कोतिर पेन्सन तथा सेवा–सुविधा प्राप्त गर्ने प्रक्रियालाई लिएर केही चिन्ता पनि हुने गर्दथ्यो। पहिले पेन्सनसम्बन्धी कामका लागि विभिन्न कार्यालयमा धाउनुपर्ने, कागजात मिलाउनुपर्ने, पटक–पटक काठमाडौं जानुपर्ने र लामो समय कुर्नु पर्ने अवस्था थियो। विशेषगरी अवकाशपछि शारीरिक तथा मानसिक रूपमा आरामको आवश्यकता पर्ने समयमा यस्ता प्रशासनिक प्रक्रियाले थप झन्झट हुने गरेको अनुभव  शिक्षकहरूको रहेको छ।

 यो प्रणाली पाइलटिङका रूपमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला छनोट गरी प्रारम्भ गरिएको यस प्रणाली  

आगामी दिनमा देशभर विस्तार हुँदै जाने भएकोले शिक्षकहरूले अवकाशपछि पेन्सनसम्बन्धी सेवा प्राप्त गर्न विभिन्न कार्यालयमा भौतिक रूपमा पटक पटक धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

प्रतिक्रिया



थप समाचारहरु