काभ्रे– काभ्रे जिल्लामा झण्डै ७ सय भूमिहिन सुकुम्बासी रहेको पाइएको छ । १३ वटा स्थानीय तह रहेको काभ्रेपलाचोक जिल्लाका ११ वटा स्थानीय तहमा करिब सात सय भूमिहिन सुकुम्बासी रहेको तथ्याङ्क रहेको छ ।
भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा उपलब्ध गराउने उद्देश्यले गठन गरेको भूमि समस्या समाधान आयोग काभ्रेपलाञ्चोकको अनुसार जिल्लामा ६६९ भूमिहिन सुकुम्बासी रहेको भू–सूचना प्रणालीमा लगत प्रविष्टि गरिएको तथ्याङ्क रहेको छ । तथ्याङ्क अनुसार जिल्लाको पाँचखाल नगरपालिकामा सबैभन्दा बढी अर्थात् १३६ घरपरिवार भूमिहिन सुकुम्बासी रहेका छन् । जिल्लाको बनेपा नगरपालिकामा ७८ घरपरिवार, धुलिखेलमा १०६, मण्डनदेउपुर नगरपालिकामा ६५ घरपरिवार, नमोबुद्ध नगरपालिकामा ६९ घरपरिवार, पनौती नगरपालिकामा १०५ घरपरिवार भूमिहिन सुम्बासी रहेका छन् । यस्तै जिल्लाको रोसी गाउँपालिकामा ३६ घरपरिवार, तेमाल गाउँपालिकामा सात घरपरिवार, खानीखोला गाउँपालिकामा ४५ घरपरिवार, भुम्लु गाउँपालिकामा १२ घरपरिवार र चौरीदेउराली गाउँपालिकामा एक घरपरिवार भूमिहिन सुकुम्बासी रहेका छन् ।
भू–सूचना प्रणालीमा प्रविष्टि भएको तथ्याङ्क अनुसार जिल्लाको महाभारत र बेथानचोक गाउँपालिकामा भूमिहिन सुकुम्बासी नरहेको पाइएको हो । तथ्याङ्कले जिल्लामा १८० घरपरिवार भूमिहिन दलित, पाँच हजार सात घरपरिवार अव्यवस्थित बसोबासी रहेको देखाएको छ । जिल्लामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी गरी कुल पाँच हजार ८५६ घरपरिवारले जग्गा उपलब्ध गराउनका लागि निवेदन दिएको पाइन्छ । हालसम्म जिल्लाको बनेपा नगरपालिकाबाट भुमिहिन दलित १६ र अव्यवस्थित बसोबासी ९७ परिवार, धुलिखेल नगरपालिकाबाट भुमिहिन दलित १९ परिवार र अव्यवस्थित बसोबासी ६८८ परिवार, पाँचखाल नगरपालिकाबाट भुमिहिन दलित ४७ परिवार र अव्यवस्थित बसोबासी ५०७ परिवार, मण्डनदेउपुर नगरपालिकाबाट भुमिहिन दलित ४१ परिवार र अव्यवस्थित बसोबासी दुई हजार १२७ परिवारको निवेदन परेको छ ।
त्यसैगरी जिल्लाको नमोबुद्ध नगरपालिकामा भुमिहिन दलित १८ र अव्यवस्थित बसोबासी ९७८ परिवार, पनौती नगरपालिकामा भुमिहिन दलित २५ र अव्यवस्थित बसोबासी १०५ परिवार, रोसी गाउँपालिकामा भुमिहिन दलित तीन र अव्यवस्थित बसोबासी १२४ परिवारले जग्गा उपलब्ध गराउन निवेदन दिएका छन् । यसैगरी तेमाल गाउँपालिकामा भुमिहिन दलित चार र अव्यवस्थित बसोबासी नौ परिवार, खानीखोला गाउँपालिकामा भुमिहिन दलित तीन र अव्यवस्थित बसोबासी ४१८ परिवार, बेथानचोक गाउँपालिकामा अव्यवस्थित बसोबासी चार परिवार, भुम्लु गाउँपालिकाबाट भुमिहिन दलित दुई र अव्यवस्थित बसोबासी एक परिवार, चौरीदेउराली गाउँपालिकामा भुमिहिन दलित दुई र अव्यवस्थित बसोबासी सात परिवार तथा महाभारत गाउँपालिकामा ११ परिवार अव्यवस्थित बसोबासी रहेको भू–सूचना प्रणालीमा प्रविष्टि गरिएको तथ्याङ्कले देखाएको छ ।