दशैँको टीका थाप्ने क्रम जारी, शहरी क्षेत्रमा चहलपहल बढ्दै


मेचीकाली , 

काठमाडौं- बडादशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा ग्रहण गर्दै आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिनदेखि सुरु भएको टीका थाप्ने परम्पराअन्तर्गत टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम चलिरहेको हो।

नेपाली समाजमा दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। विशेषगरी टीकाको दिन भेट हुन नसकेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने र आशीर्वाद लिने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिन्छ।

यद्यपि, देशका केही समुदाय तथा क्षेत्रमा कुल र पारिवारिक परम्पराअनुसार विजयादशमीकै दिन मात्र दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन पनि छ।

यसैबीच, दशैँ मनाउन गाउँघर गएकाहरू काठमाडौं फर्कने क्रम बढ्न थालेसँगै राजधानीका सडक तथा बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ। दशैँको बिदा सकिन लाग्दा  दशैं मनाउन काठमाडौं बाहिर गएकाहरू फर्किन थालेका हुन्।

कोजाग्रत पूर्णिमाको राति जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ पर्व औपचारिक रूपमा समापन हुन्छ। त्यससँगै दशैँको बिदापछि जनजीवन र बजारको गतिविधि थप सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु