काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न सांसद डा. राम लामाले नेपाल सरकारसमक्ष माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा प्रा. डा. शर्माले पुर्याएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन्।
सांसद लामाले प्रा. डा. शर्माको निधनले नेपाली शैक्षिक जगत् र सिङ्गो राष्ट्रलाई नै स्तब्ध बनाएको बताए। उनले शर्मालाई नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गरे।
सन् १९८९ मा सीटीईभीटीका प्रथम कार्यकारी निर्देशकका रूपमा काम गर्दै शर्माले नेपालको प्राविधिक शिक्षाको जग बसाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सांसद लामाले उल्लेख गरे। त्यसपछि सन् १९९१ मा काठमाडौं विश्वविद्यालय स्थापना गरी करिब दुई दशकसम्म नेतृत्व गर्दै उहाँले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न विधामा गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो।
शर्माकै दूरदृष्टिका कारण काठमाडौं विश्वविद्यालय स्वायत्त विश्वविद्यालय तथा अनुसन्धानको प्रतिष्ठित केन्द्रका रूपमा स्थापित हुन सकेको सांसद लामाले बताए। उहाँले नेपालको उच्च शिक्षामा नयाँ सोच, नयाँ मानक र नयाँ सम्भावनाको आधारसमेत तयार गरेको उनले उल्लेख गरे।
‘उहाँजस्तो शिक्षाविद् जन्मिन देशले फेरि सयौँ वर्ष कुर्नुपर्ने हुन सक्छ,’ सांसद लामाले भने, ‘उहाँले आफ्नै सन्तानझैँ हुर्काउनुभएको काठमाडौं विश्वविद्यालय यो देशलाई सुम्पिएर सदाका लागि बिदा हुनुभएको छ।’
नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकासमा शर्माले पुर्याएको योगदानलाई ध्यानमा राख्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न सभामुखमार्फत नेपाल सरकारसमक्ष माग गरिएको हो।
सांसद लामाले शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण विश्वविद्यालय परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। उनले प्रा. डा. सुरेशराज शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरे।