सुरेशराज शर्मा : नेपालको उच्च शिक्षाका पथप्रदर्शक


मेचीकाली

काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक तथा पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । केही दिनदेखि काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचाररत प्राडा. शर्माको ८६ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो । सन् १९४० अप्रिल २ मा पिता विष्णुप्रसाद शर्मा र माता सावित्री शर्माको कोखबाट जन्मिनु भएका डा. शर्माले पाँच दशकभन्दा लामो समय नेपालको शिक्षा नीति, प्राविधिक शिक्षा र संस्थागत विकासमा समर्पित गर्नुभएको थियो । नेपालको शैक्षिक रूपान्तरण र आधुनिक उच्च शिक्षाको विकासमा डा. सुरेशराज शर्मा एक अग्रणी तथा पथप्रदर्शक व्यक्तित्व हुनुहुन्थ्यो  ।


शैक्षिक पृष्ठभूमि र प्राज्ञिक यात्रा

डा. शर्माले सन् १९६२ मा त्रि-चन्द्र कलेजबाट विज्ञानमा स्नातक (B.Sc.) र सन् १९६४ मा भारतको कर्नाटक विश्वविद्यालयबाट स्नातकोत्तर (M.Sc.) उपाधि हासिल गर्नुभएको थियो। पछि सन् १९७७ मा बेलायतस्थित साउथ बैंक लन्डन विश्वविद्यालयबाट उहाँले विद्यावारिधि (Ph.D.) सम्पन्न गर्नुभयो। उहाँले आफ्नो प्राज्ञिक सेवा सन् १९६४ मा त्रि-चन्द्र कलेजमा उपप्राध्यापकका रूपमा सुरु गर्नुभएको थियो। त्यसपछि त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक, सहप्राध्यापक हुँदै सन् १९८० देखि १९९२ सम्म प्राध्यापक पदमा रहेर प्राध्यापन तथा अनुसन्धानमा योगदान पु¥याउनु भएको थियो ।


काठमाडौँ विश्वविद्यालयको जग र प्रशासनिक नेतृत्व

नेपालमा गुणस्तरीय तथा स्वायत्त उच्च शिक्षाको नयाँ मानक स्थापित गर्ने उद्देश्यले सन् १९९१ मा स्थापना भएको काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपतिका रूपमा डा. शर्माको योगदान ऐतिहासिक मानिन्छ। उहाँले दुई दशकभन्दा लामो समय विश्वविद्यालयको नेतृत्व सम्हाल्दै यसलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्नुभयो। विश्वविद्यालयको नेतृत्वका अलावा उहाँले नेपाल सरकारका विभिन्न उच्च ओहोदामा रहेर महत्त्वपूर्ण नीतिगत नेतृत्व प्रदान गर्नुभयो। उहाँले राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव (१९७७–१९८७), प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को कार्यकारी निर्देशक (१९८९–१९९१) तथा शिक्षा मन्त्रालयको विशिष्ट श्रेणीको अधिकृतका रूपमा देशको प्राविधिक तथा व्यावसायिक शिक्षाको नीति निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। साथै विभिन्न राष्ट्रिय शिक्षा आयोग तथा उच्चस्तरीय कार्यदलहरूमा रहेर उहाँले शिक्षा सुधारका मार्गचित्र कोर्नुभएको थियो।


अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व र सामाजिक संलग्नता

डा. शर्माले युनेस्को, सार्क, विश्व बैंक तथा आईएलओ जस्ता विश्वस्तरीय निकायहरूले आयोजना गरेका दर्जर्नौँ अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग (SAARC) अन्तर्गत विज्ञान तथा प्रविधि समितिका लागि नेपालको ‘फोकल पोइन्ट’ भएर पनि उहाँले लामो समय कार्य गर्नुभयो। शिक्षाका साथसाथै उहाँ वातावरण संरक्षण, प्रारम्भिक बालविकास र सामाजिक सेवामा समेत निरन्तर सक्रिय रहनुभएको थियो। उहाँ ‘फ्रेन्ड्स अफ बागमती’ र ‘सेतो गुराँस राष्ट्रिय बालविकास कार्यक्रम’ को अध्यक्ष तथा रोटरी क्लब धुलिखेलको पूर्व अध्यक्षका रूपमा सामाजिक रूपान्तरणमा क्रियाशील रहनुभयो।


अनुसन्धान, कृति तथा पुरस्कार

एक सिद्धहस्त लेखक तथा अनुसन्धाता डा. शर्माका रसायनशास्त्र, प्राविधिक शिक्षा, शिक्षा नीति र विकाससँग सम्बन्धित दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। उहाँका ‘काठमाडौँ विश्वविद्यालय: कठिन यात्राका पाइलाहरू’, ‘शिक्षा: विकास र चुनौती’, ‘बिर्सनै नसकिनेहरू’ लगायतका कृतिहरू तथा दुई सयभन्दा बढी अनुसन्धानमूलक लेखहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित छन्। शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई तत्कालीन राजाहरूबाट महेन्द्र विद्याभूषण, प्रबल गोरखा दक्षिण बाहु, वीरेन्द्र ऐश्वर्य पदक लगायतका विशिष्ट मानपदवी प्रदान गरिएको थियो। त्यस्तै उहाँले अन्तर्राष्ट्रिय ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ (दक्षिण कोरिया), डा. बलराम जोशी विज्ञान तथा प्रविधि राष्ट्रिय पुरस्कार, बीपी कोइराला मेमोरियल ओरेसन, शारदानन्द राष्ट्रिय पुरस्कार तथा नेपाल सरकारबाट प्रदान गरिने ‘उज्ज्वल कीर्तिमय राष्ट्रिय द्वीप’ जस्ता दर्जनौँ मान-सम्मान तथा पुरस्कारबाट विभूषित हुनुभएको थियो। डा. सुरेशराज शर्माले नेपालको शिक्षा क्षेत्रलाई आधुनिक, सीपमूलक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन खेलेको भूमिका भावी पुस्ताका लागि सधैँ प्रेरणादायी रहनेछ।

प्रतिक्रिया



थप समाचारहरु