मान्छे होइन, ज्ञान र सीप निर्यात गर्ने देश बनाउनुपर्छ : केयूका उपकुलपति बराल


मेचीकाली

धुलिखेल । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा. विवेक बरालले नेपाललाई रोजगारीका लागि जनशक्ति विदेश पठाउने मुलुकभन्दा ज्ञान, सीप, प्रविधि र वस्तु निर्यात गर्ने देशका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।

मङ्गलबार सञ्चारकर्मीसँगको छलफलमा उहाँले नेपालको समृद्धिका लागि प्राकृतिक स्रोतसाधनभन्दा दक्ष मानव संसाधनको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “हामी नेपाललाई मान्छे एक्सपोर्ट गर्ने देशभन्दा स्किल, वस्तु र हाईटेक सेवा एक्सपोर्ट गर्ने देश बनाउन चाहन्छौँ,” उपकुलपति बरालले भन्नुभयो।

उहाँका अनुसार देश विकासका लागि प्राकृतिक स्रोतसाधन मात्रै पर्याप्त हुँदैन। दक्ष, सिर्जनशील र नवप्रवर्तनमा सक्षम जनशक्ति उत्पादन गर्न सके मात्रै मुलुकले उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सक्ने उहाँको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै ‘क्वालिटी एजुकेशन फर लिडरसिप’ भन्ने मूल उद्देश्यका साथ शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।

नेपालका विभिन्न जिल्लाबाट विद्यार्थी अध्ययनका लागि विश्वविद्यालयमा आउने गरेको उल्लेख गर्दै उपकुलपति बरालले काठमाडौँ विश्वविद्यालय काभ्रेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण माध्यमसमेत बनेको बताउनुभयो।

“नेपालभरका विद्यार्थी यहाँ अध्ययन गर्न आउँछन्। विश्वविद्यालय काभ्रेलाई विश्वसामु चिनाउने माध्यम पनि बनेको छ,” उहाँले भन्नुभयो, “विश्वविद्यालयले समाज र मानव जातिको कल्याणका लागि ज्ञान उत्पादन र प्रसार गर्ने काम गर्दै आएको छ।”

विश्वविद्यालयमा उत्पादन भएको ज्ञान र सीपलाई समुदायसम्म पुर्‍याउन ‘क्याम्पस टु कम्युनिटी’ कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।

उपकुलपति बरालले नवप्रवर्तनलाई विश्वविद्यालयको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाइएको बताउनुभयो। युवालाई विदेश गएर मात्रै अवसर खोज्नुपर्ने अवस्थाबाट मुक्त गर्दै स्वदेशमै सिर्जना, उद्यम र नवप्रवर्तनका माध्यमबाट अवसर निर्माण गर्न सक्ने वातावरण बनाउन विश्वविद्यालयले युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँको भनाइ छ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. विराजसिंह थापाले काठमाडौँ विश्वविद्यालय र जिल्लाका सञ्चारकर्मीबीच लामो समयदेखि रहेको सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजाने बताउनुभयो।

विश्वविद्यालय र सञ्चारकर्मीबीच समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले नेपाल पत्रकार महासंघ जिल्ला शाखासँगको सहकार्यमा छोटो अवधिका तालिमलगायतका कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले पछिल्ला वर्षहरूमा महासंघ र काठमाडौँ विश्वविद्यालयबीच विभिन्न कार्यक्रममार्फत सहकार्य हुँदै आएको बताउनुभयो।

महासंघका लागि विश्वविद्यालयले अक्षय कोष स्थापना गर्ने कार्यक्रम अघि बढाए पनि हाल रोकिएको उल्लेख गर्दै उहाँले उक्त कार्यक्रमलाई पुनः अघि बढाउन आग्रह गर्नुभयो। आगामी दिनमा विश्वविद्यालय र महासंघबीच थप सहकार्य र साझेदारीका कार्यक्रम सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।

प्रतिक्रिया



थप समाचारहरु