काठमाडौँ विश्वविद्यालय र जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयबीच सहकार्य, पहिलो समर स्कुल सुरु


मेचीकाली

धुलिखेल- काठमाडौँ विश्वविद्यालय (केयू) र जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको इन्टरडिसिप्लिनरी सेन्टर फर साइन्टिफिक कम्प्युटिङ (IWR) बीच अनुसन्धान तथा शैक्षिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

काठमाडौँ विश्वविद्यालयको धुलिखेलस्थित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा सोमबार आयोजित समारोहमा दुई विश्वविद्यालयबीच दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको हो ।

समझदारीपत्रमा काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. बालकृष्ण बल र हाइडेलबर्ग विश्वविद्यालयको IWR का प्रशासनिक निर्देशक डा. माइकल विन्क्लरले हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी आदान–प्रदान, भिजिटिङ प्रोफेसरसिप तथा वैज्ञानिक भ्रमण, व्याख्यान तथा सेमिनार आयोजना, संयुक्त अनुसन्धान तथा दुवै संस्थाबीच वैज्ञानिक परामर्शलगायतका क्षेत्रमा सहकार्य गरिनेछ ।

समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बराल, रजिस्ट्रार डा. विराजसिंह थापा, नेपालस्थित जर्मन नियोगका उपप्रमुख बेन्जामिन साइडेल, IWR का प्राध्यापक प्रा. डा. पिटर बास्टियन, IWR का प्रशासनिक निर्देशक डा. माइकल विन्क्लर तथा हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया कार्यालय (HCSA), नयाँदिल्लीका निर्देशक डा. सुबूर बख्तलगायतको उपस्थिति थियो ।


गणित र कम्प्युटिङमा पहिलो जर्मन समर स्कुल

दुई संस्थाबीचको सहकार्यको पहिलो पहलका रूपमा ‘समर स्कुल अन एप्लाइड म्याथमेटिक्स एन्ड साइन्टिफिक कम्प्युटिङ–२०२६’ पनि सोमबारदेखि सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने समर स्कुलको व्याख्यान शृङ्खला सेप्टेम्बर २५ सम्म चल्नेछ ।

समर स्कुलमा नेपाल र जर्मनीका विद्यार्थी तथा प्रारम्भिक करियरका अनुसन्धानकर्तालाई सहभागी गराई वास्तविक जीवनका प्रक्रियाको गणितीय मोडलिङ, संख्यात्मक विधि तथा वैज्ञानिक कम्प्युटिङका उपकरणबारे सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइँदैछ ।

समर स्कुलमा काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका गरी ४५ जना विद्यार्थी तथा सहभागी सहभागी छन् ।

समर स्कुलअन्तर्गत दुईवटा मुख्य व्याख्यान शृङ्खला सञ्चालन भइरहेका छन् । पहिलो शृङ्खला ‘न्युमेरिकल सोलुसन अफ पार्टियल डिफरेन्सियल इक्वेसन्स’ विषयमा केन्द्रित छ, जसको संयोजन प्रा. डा. पिटर बास्टियनले गर्नुभएको छ ।

त्यस्तै दोस्रो शृङ्खला ‘मोडलिङ एन्ड प्यारामिटर एस्टिमेसन फर ओडीइज’ विषयमा केन्द्रित छ, जसको संयोजन डा. माइकल जे. विन्क्लरले गर्नुभएको छ ।

काठमाडौँ विश्वविद्यालय र हाइडेलबर्ग विश्वविद्यालयबीचको यो सहकार्यले नेपालका विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकलाई अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान, वैज्ञानिक ज्ञान र शैक्षिक आदान–प्रदानका थप अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

समर स्कुल तथा दुई संस्थाबीचको सहकार्यलाई नेपालस्थित जर्मन नियोगका उपप्रमुख बेन्जामिन साइडेल र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बरालले स्वागत गर्दै आयोजक टोलीलाई बधाई दिनुभएको छ । दुवै पक्षले सहकार्यले आगामी दिनमा अनुसन्धान तथा शैक्षिक क्षेत्रमा थप अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया



थप समाचारहरु