काभ्रे–गत भदौमा जेन्जी आन्दोलनको केही दिन अघि जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपामा रहेका एजुकेशनल कन्सल्टेन्सीको अनुगमन गर्यो । अनुगमनको क्रममा अधिकांश कन्सल्टेन्सी विना अनुमति सञ्चालनमा रहेको पाइयो ।
प्रशासनले तत्काल दर्ता गरेर चलाउन भन्दै तत्काल कन्सल्टेन्सी बन्द गर्न निर्देशन समेत दियो । लगत्तै जेन्जी आन्दोलन भयो, प्रशासन अन्य सुरक्षा व्यवस्था मिलाउनै व्यस्त भएपछि धेरैले दर्ता नगरी निरन्तर कन्सल्टेन्सी चलाइरहे । तर ७-८ महिनामै परिस्थिति बदलिएको छ । अब दर्ता नगरी चलाइएका कन्सल्टेन्सी तत्कालै बन्द हुने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले एक सूचना जारी गरी गैरकानुनीरुपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीसहित लोकसेवा आयोग, शिक्षक सेवा आयोग, भाषा कक्षा, ट्युसन सेन्टर, ब्रिज कोर्स, कोचिङ कक्षाहरु सञ्चालनमा रहेको भन्दै बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा धेरै कन्सल्टेन्सीहरु रहेको र तीमध्ये अधिकांशले कानुनी प्रक्रिया पुरा नगरी विद्यार्थीलाई विदेश पठाउने, अभिभावकसँग अत्याधिक शुल्क असुल्ने र कर छल्ने जस्ता गतिविधि गरिरहेको उजुरीसमेत प्राप्त भएको इकाईले जनाएको छ ।
अनुगमनको क्रममा कानुनबमोजिम संस्थाहरु सञ्चालन गरेको पाइएमा नियमअनुसार कार्बाही गरिने इकाई प्रमुख सविता दंगालले जनाएकी छन् । काभ्रे जिल्लामा झण्डै एक सयको हाराहारीमा एजुकेशनल कन्सल्टेन्सी रहेका छन् । तीमध्ये २ दर्जनजतिमात्रै दर्ता भएर सञ्चालनमा रहेका छन् । भदौमा अनुगमन पछि थप केही कन्सल्टेन्सीले अनुमतिपत्र लिएका छन् । अरुले भने अटेर गरिरहेका छन् ।
शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) सञ्चालनका लागि विगतमा शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस्तो अनुमति प्रदान गर्दै आइरहेको छ । 