रोसी क्षेत्रमा बाढी र मौसमको जानकारी दिने उपकरण थपिँदै


मेचीकाली

काभ्रे– काभ्रेको रोसी तथा अन्य नदि तटिय क्षेत्रमा वर्षाका कारण हुन सक्ने क्षति कम गर्नका लागि जिल्लाका विभिन्न स्थानहरुमा मौसम मापन केन्द्र र बाढी मापन केन्द्रहरु थप गरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने भएको हो ।

जिल्लामा वर्षापछि आउने बाढी र जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नागरिकहरुलाई मौसमको बारेमा जानकारी दिनका लागि गर्न सकिने कामहरुको बारेमा विभाग, विपद्सँग काम गर्ने निकायसँग छलफल समेत गरिएको छ । विभागका बरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले काभ्रेपलाञ्चोकका नागरिकहरुलाई मौसम र बाढीको बारेमा जानकारी दिनका लागि जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन वटा स्थानमा बाढी मापन उपकरण जडान गरिएको बताए ।

यसअघि जिल्लाको धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको बताए । यस्तै जिल्लाको दोलालघाटस्थित सुनकोशी नदि, पचुवारघाटस्थित सुनकोशी नदि र पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको उनले बताए । “हामीले जिल्लाको रोसी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण र पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना अर्थात् खोपासीभन्दा केही किमी तल, रोसी खोला पुल र रोसी र सुनकोशीको सङ्गमस्थलभन्दा केही किलोमिटर माथि (नेपालथोक) नजिकैको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाएका छौँ” बरिष्ठ हाइड्रोलोजिष्ट् पराजुलीले भने ।


“जिल्लामा जडान गरिएका सात वटा मौसम मापन उपकरण, तीन वटा बाढी मापन उपकरणबाट जिल्लाको दक्षिणी भेगको मौसम र बाढी मापन गर्न सक्ने अवस्था नरहेको र रोसी खोलाको बाढी सुनकोशीसम्म पुग्दा पनौतीबाट जाने बाढी मात्रै नभई बीचबीचमा मिसिने अन्य खोलाखोल्सीले पनि असर गर्ने र हाल त्यसको मापन गर्ने उपकरण र अवस्था नभएकोले थप उपकरण राख्ने प्रस्ताव गरिएको हो” मौसमविद् पराजुलीले भने । उनले पछिल्लो समय पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणको लागि फ्लड लाइट (बाढीको जानकारी दिने बत्ती) समेत जडान गरिएको बताए । “पनौतीमा हाल परीक्षणको लागि राखिएको फ्लड लाइटमा बाढीले खतराको तह पार गर्दा स्वचालित रुपमा बत्ती बल्दछ, पनौती क्षेत्रका नागरिक बाढीबाट प्रभावित बन्ने भएकोले सबैले देख्ने गरी बाढी आएको सूचना घरमा बसेर हेर्न सक्नेछन्, पहँलो बत्तीले सर्तकर्ताको र रातो बत्तीले खतराको तहमा पुगेको सङ्केत गर्दछ” बरिष्ठ हाइड्रोलोजिष्ट पराजुली भन्छन् ।

उनले जिल्लामा थप जडान गरिने तीन वटा बाढी मापन उपकरण र मौसम मापन उपकरणबाट तत्कालका लागि रोसी खोला र विपी राजमार्गसँग जोडिएको जोखिम व्यवस्थापनमा पूर्व सूचना दिएर काम गर्न सकिने बताए । उनका अनुसार थप गरिने बाढी मापन उपकरणबाट बाढीबाट हुने क्षति कम गर्नका लागि तथा रोसी खोलाको हिउँद र वर्षाको समयको पानीको वहावको बारेमा जानकारी दिन सहयोग गर्ने भएकोले भविष्यमा अघि बढाईने सिञ्चाई योजनाको काम गर्न मद्दत गर्ने बताए ।


आइभिआरमार्फत अडियो सन्देश पठाउने तयारी

विपद्को विषयमा पूर्व सूचना दिने जल तथा मौसम विज्ञान विभागको एकल दायित्व जस्तो बुझाई रहेको पराजुलीको भनाई छ । विपद्को पूर्व सूचना दिने र त्यसको प्रचारप्रसार गर्ने भनेको स्थानीय सरकार, जिल्ला र सुरक्षा निकायका समेत दायित्व रहेको उनले बताए । विपद्को पूर्व सूचनाका लागि सब निकायबीच समन्वय जरुरी रहेको उनले बताए । मनसुन सुरु हुनु एक÷दुई हप्ताको बीचमा जिल्लाका जनप्रतिनिधि, विपदमा काम गर्ने, रेडक्रसकर्मी, शिक्षक, जो पूर्व सूचना पाएपछि समुदायसम्म पु¥याउन सक्ने व्यक्तिलाई आईभिआर (इन्ट्रयाक्टीभ भ्वाइस रेस्पोन्स) प्रणालीमा जोड्न सकिने उनले बताए ।

“यो प्रणाली अन्र्तगत समाजमा सूचना प्रवाह गर्न सक्ने व्यक्तिको मोबाईलमा एसएमएस (लिखित सन्देश) नपठाई फोन गरेर एक मिनेटजतिको सचेतनामूलक सन्देश पठाइनेछ” बरिष्ठ हाइड्रोलोजिष्ट् पराजुलीले भने । उनका अनुसार रोसी खोलामा पानी परेपछि फ्लास फ्लड (आकस्मिक बाढी) आउने भएकोले एसएमएस पठाउँदा नागरिकहरुले थापा नपाउने, मोबईलमा आएको म्यासेज नहेर्ने अवस्था आउन सक्ने भएकोले फोन गर्दा फोन उठाएर सन्देश सुन्ने भएकोले एसएमएस पढ्न नसक्ने व्यक्तिहरुका लागि समेत प्रभावकारी बन्ने अपेक्षा छ  । जिल्लाको स्थानीय तहले स्थानीय जनप्रतिनिधि, विपदमा काम गर्ने, रेडक्रसकर्मी, शिक्षकलगायत एउटा पालिकाबाट कम्तिमा ५० जना जतिको सम्पर्क नम्बर उपलब्ध गराएको खण्डमा आएभिआर प्रणालीमा जोडेर पूर्व सूचना दिन सकिने उनले बताएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु