मनकामना सहकारीको ३१औँ साधारण सभा सम्पन्न


मेचीकाली , 

बनेपा- मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभाको समापन कार्यक्रम बनेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। संस्थाले ६ वटा सेवा कार्यालयमा साधारण सभा आयोजना गरेपछि केन्द्रीय कार्यालयमा समापन कार्यक्रम गरेको हो।

समापन कार्यक्रममा सहकारी क्षेत्रमा बदलिँदो नीति, सञ्चालक तथा कर्मचारीसम्बन्धी व्यवस्था, बचत तथा ऋण कारोबार, आम्दानी–खर्चको अवस्था र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सभामा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले सहकारीको समग्र अवस्था, भावी योजना तथा विद्यमान चुनौती समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। दाहालले सहकारी क्षेत्रमा देखिएका समस्यालाई ध्यानमा राख्दै बचतकर्ताको रकम सुरक्षा, लगानी गरिएको ऋण असुली र सदस्यमैत्री कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास तिमल्सिना, लेखा सुपरिवेक्षण समितिका संयोजक देवप्रसाद कोइराला, सल्लाहकार राजकुमार हुमागाईं, वडा अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकाल, राष्ट्रिय सहकारी बैंकका उपेन्द्र दाहाललगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सहकारीका समसामयिक विषयमा धारणा राखेका थिए।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सीताराम तिमल्सिनाका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सहकारीमा १० हजार ५४४ जना शेयर सदस्य पुगेका छन्। सदस्यबाट १६ करोड २४ लाख १४ हजार ७०० रुपैयाँ शेयर पुँजी संकलन भएको उनले जानकारी दिए। उक्त अवधिमा संस्थाले ३२.६७ प्रतिशत तरलता कायम गरेको र १७ करोड रुपैयाँ संस्थागत पुँजी बनाएको तिमल्सिनाले बताए। उनका अनुसार सहकारीले १ अर्ब ६९ करोड ९८ लाख ६५ हजार ७१९ रुपैयाँ ऋण लगानी गरेको छ भने सदस्य तथा अन्य स्रोतबाट १ अर्ब ९२ करोड ९६ लाख ८ हजार २२६ रुपैयाँ बचत संकलन गरेको छ।

आर्थिक वर्षको अन्त्यमा संस्थाको कुल वासलात २ अर्ब ३० करोड ५२ लाख ९८ हजार ६४३ रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया



थप समाचारहरु