बासडोल बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, आशीष शर्माको अध्यक्षतामा नयाँ समिति चयन


मेचीकाली , 

बनेपा-बासडोल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा–१२ को २०औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, लाभांश वितरण तथा आगामी कार्यदिशाबारे छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ । सभाले आशिष शर्मा वाग्लेको अध्यक्षतामा नयाँ सञ्चालक समिति र प्रदीप खड्काको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्व तथा बनेपा नगरपालिका वडा नं. १२ का अध्यक्ष रामबहादुर कुँवरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा गणेश भारती माध्यमिक विद्यालयका प्रतिनिधि, महेन्द्रज्योति स्वास्थ्य चौकीका इन्चार्ज, संस्थापक अध्यक्ष तथा सल्लाहकारहरूको आतिथ्यता रहेको थियो ।

२०६४ सालमा स्थापना भएको संस्थामा हाल एक हजार ९२९ जना शेयर सदस्य र दुई हजार ७०० बचतकर्ता रहेका छन् । संस्थाको कुल वासलात २५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । विद्यमान सदस्यहरूमध्ये ७३.४० प्रतिशतको सहभागितामा साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।

सभामा सञ्चालक समितिका सचिव रामकृष्ण कुँवरले वार्षिक प्रतिवेदन, कोषाध्यक्षले वित्तीय विवरण तथा लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक कञ्चन भुजेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सभाले संस्थाको आर्थिक अवस्था, गतिविधि र आगामी कार्ययोजनासम्बन्धी विषयमा समीक्षा गरेको थियो ।

साधारण सभाले संस्थाको नाफाका आधारमा शेयर सदस्यलाई ४.४८ प्रतिशतका दरले शेयर लाभांश र ५.३१ प्रतिशतका दरले संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा सहकारीसम्बन्धी नीति, नियम, कार्यविधि तथा निर्देशिकाका विषयमा समेत जानकारी गराइएको थियो । सदस्यहरूको नियमित बचत, वित्तीय अनुशासन र सहकारीप्रतिको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले सभामा विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरिएको थियो । संस्थामा भएको वित्तीय कारोबारका आधारमा छनोट गरिएका असल ऋणी, उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता तथा बाल बचतकर्तालाई माला, सम्मानपत्र र नगद प्रदान गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै सभापति सुरेन्द्र महतले आफ्नो चारवर्षे कार्यकालमा संस्थाको उन्नति र प्रगतिका लागि आफू तथा सम्पूर्ण टिमले मिलेर काम गरेको बताए । संस्थाले सदस्यहरूको सुखदुःखमा साथ दिँदै आएको उल्लेख गर्दै उनले मल तथा अक्सिजन सेवा उपलब्ध गराएर सदस्यहरूलाई सहयोग गरेको बताए । संस्थाको विकाससँगै सदस्यहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण कार्यसमेत अघि बढाइएको उनको भनाइ थियो ।

लेखा सुपरीवेक्षण समितिका संयोजक कञ्चन भुजेलले संस्थालाई वर्तमान अवस्थामा पु¥याउन संस्थापक समूह, सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको बताए । उनले संस्थामा पदमा रहेर मात्र नभई पदबाहिर रहेर पनि योगदान गर्न सकिने उल्लेख गर्दै सहकारीलाई नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


नयाँ सञ्चालक समिति निर्विरोध चयन

साधारण सभाले आशिष शर्मा वाग्लेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा राजन थापा, सचिवमा पूजा हमाल र कोषाध्यक्षमा शान्ता थापा चयन भएका छन् । त्यस्तै, सञ्चालक सदस्यहरूमा कल्पना कुँवर, श्यामबहादुर भुजेल, मनकुमार भुजेल, प्रल्हाद सत्याल र गीता दाहाल चयन भएका छन् । प्रदीप खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको सदस्यमा रामबिक्रम खड्का र लक्ष्मी खड्का चयन भएका छन् ।

नयाँ सञ्चालक समिति चयनका लागि निर्वाचन उपसमितिका संयोजक गुरुप्रसाद ढकाल तथा सदस्यहरू दीपक तिमल्सिना र रामबहादुर केसीलाई निर्वाचन सञ्चालनको जिम्मेवारी दिइएको थियो  । कार्यक्रममा निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई टीका, माला र प्रमाणपत्र वितरण गर्नुका साथै शपथ ग्रहण गराएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आशिष शर्मा वाग्लेले संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको हितका लागि आर्थिक तथा सामाजिक क्षेत्रमा समेत काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामकृष्ण कुँवरले गरेका थिए  । 


प्रतिक्रिया



थप समाचारहरु