भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल सञ्चालकलाई कुटपिट गरी सुनको सिक्री लुटेर फरार भएको आरोपमा काभ्रेपलाञ्चोकको पाँचखालका पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१ का २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन्।
प्रहरीका अनुसार गत असोज २० गते दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका सञ्चालक तीर्थबहादुर कार्की पसल बन्द गरी घरतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई कुटपिट गरी उनले लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले असोज २१ गते चाँगुनारायण नगरपालिका–२, दुवाकोटबाट पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएको भनिएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ। बरामद मोटरसाइकलमा बा ९१ प १२०७ नम्बरको २०० एनएस पल्सर र प्र.३–०२–००१ प ४६९२ नम्बरको २२० पल्सर रहेका छन्।
पक्राउ परेका पाँचै जनालाई असोज २२ गते चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो। अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।