काभ्रेपलाञ्चोक । जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले काभ्रेमा ‘काभ्रे हेरिटेज फोटो वाक २०२६’ आयोजना हुने भएको छ।
नोभेम्बर २८ अर्थात् मंसिर १३ गते शनिबार आयोजना हुने फोटो यात्रामा जिल्लाका तीन महत्वपूर्ण सम्पदा क्षेत्र नमोबुद्ध, दाप्चा बजार र मथुरापाटी फूलबारीको भ्रमण गरिनेछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने कार्यक्रममा फोटोग्राफर, सम्पदा अभियन्ता, इतिहास तथा संस्कृतिमा रुचि राख्ने व्यक्ति र स्थानीय समुदायको सहभागिता रहने आयोजकले जनाएको छ।
‘Discovering Heritage, Documenting History, Preserving Culture’ अर्थात् सम्पदाको खोजी, इतिहासको अभिलेखीकरण र संस्कृतिको संरक्षण भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रम विकिमिडियन्स अफ नेपाल, रोटरी क्लब अफ काठमाडौं हाइट र रोटरी क्लब अफ धुलिखेलको संयुक्त पहलमा अघि बढाइएको हो। होटल एसोसिएसन नेपाल (हान) काभ्रे धुलिखेल च्याप्टरको पनि सहकार्य रहने अवधारणापत्रमा उल्लेख छ।
कार्यक्रममा पहिलो गन्तव्यका रूपमा नमोबुद्धको भ्रमण गरिनेछ। बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल नमोबुद्ध महात्मा बुद्धको पूर्वजन्मसँग जोडिएको महत्त्वपूर्ण धार्मिक स्थल हो। राजकुमार महासत्त्वले भोकले व्याकुल बघिनी र उसका डमरुलाई आफ्नो शरीर अर्पण गरेको जातक कथासँग यस क्षेत्रको धार्मिक महत्त्व जोडिएको छ। यहाँस्थित पवित्र स्तूप र थ्रङ्गु ताशी याङ्त्से गुम्बाको धार्मिक, सांस्कृतिक तथा वास्तुकलासम्बन्धी विशेषतालाई तस्बिरमार्फत अभिलेखीकरण गरिनेछ।
त्यसपछि ऐतिहासिक दाप्चा बजार र काक्रे क्षेत्रको भ्रमण गरिनेछ। परम्परागत बस्ती, पुराना घर, गल्ली, मन्दिर, स्थानीय वास्तुकला तथा ऐतिहासिक व्यापारिक गतिविधिसँग जोडिएका पक्षलाई फोटोमा उतार्ने कार्यक्रम छ।
त्यस्तै, मथुरापाटी फूलबारीमा स्थानीय धार्मिक सम्पदा, ग्रामीण जीवनशैली, बस्तीको स्वरूप र प्राकृतिक दृश्यहरूको अभिलेखीकरण गरिनेछ।
फोटो यात्राको मुख्य उद्देश्य काभ्रेपलाञ्चोकका ओझेलमा परेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई तस्बिर र दृश्य कथामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु हो। सहभागीले खिचेका उपयुक्त तस्बिरलाई आवश्यक अनुमति र खुला इजाजत प्रक्रियापछि विकिमिडिया कमन्सलगायत खुला ज्ञानका डिजिटल प्लेटफर्ममा राखिनेछ। यसबाट काभ्रेका सम्पदासम्बन्धी सामग्री विश्वभरका मानिसले सहज रूपमा हेर्न र उपयोग गर्न सक्ने आयोजकको अपेक्षा छ।
कार्यक्रममा सम्पदास्थलको भ्रमण र फोटोग्राफीसँगै तस्बिरको विवरण लेख्ने, स्थानीय इतिहास तथा कथाहरू संकलन गर्ने र खुला लाइसेन्समार्फत तस्बिर सार्वजनिक गर्ने विषयमा समेत जानकारी दिइनेछ।
आयोजकका अनुसार स्थानीय सरकार, सांस्कृतिक तथा सम्पदा संरक्षणसम्बन्धी संस्था, शैक्षिक संस्था, पर्यटन व्यवसायी, फोटोग्राफर र इच्छुक व्यक्तिहरूलाई समेत कार्यक्रममा सहकार्य तथा सहभागिताका लागि आमन्त्रण गरिएको छ।
कार्यक्रमका लागि आवश्यक समन्वय, स्थानीय गाइड, स्वयंसेवक, प्राथमिक उपचार सामग्री तथा स्वास्थ्य सहयोगको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। सहभागीलाई आरामदायी पोसाक, हिँड्न सहज हुने जुत्ता, टोपी र आवश्यक व्यक्तिगत सामग्री लिएर आउन सुझाव दिइएको छ।
काभ्रेपलाञ्चोकका ऐतिहासिक बस्ती, धार्मिक स्थल, परम्परागत वास्तुकला र सांस्कृतिक पहिचानलाई डिजिटल माध्यमबाट संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने अभियानका रूपमा फोटो वाकलाई लिइएको छ।