धुलिखेल- काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच धुलिखेलमा ‘काठमाडौँ–धुलिखेल मैत्री पार्क’ निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ।
धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल पार्कलाई थप सुविधासम्पन्न, व्यवस्थित तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले दुई स्थानीय तहबीच पूर्वाधार निर्माण तथा विकाससम्बन्धी सम्झौता भएको हो।
सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले पार्क निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ। आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा रहेको धुलिखेललाई पारिवारिक मनोरञ्जन, विश्राम तथा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने योजनासहित पार्क निर्माण गर्न लागिएको हो।
पार्क निर्माण सम्पन्न भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने, स्थानीय आर्थिक गतिविधि बढ्ने तथा आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ।
यस सहकार्यले काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीचको संस्थागत सम्बन्धसँगै दुवै नगरका नागरिकबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत थप प्रगाढ बनाउने विश्वास लिइएको छ। सम्झौता कार्यक्रममा दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।