काभ्रे-नेपाल र चीनबीचको मित्रता, सांस्कृतिक आदानप्रदान तथा सहकार्यलाई फूलको सुगन्धसँग जोड्दै धुलिखेलमा नेपाल हच पियोनी बगैंचाको उद्घाटन गरिएको छ। धुलिखेल नगरपालिका–स्थित देविस्थानमा निर्माण गरिएको बगैंचाले पियोनी र लालीगुराँसको सुगन्धसँगै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
नेपाल र चीनका प्रतिनिधिहरूको सहभागितामा आयोजित समारोहमा बगैंचाको उद्घाटन शिलालेख अनावरण गरिएको थियो। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलगायत प्रतिनिधिहरूले पियोनीका बिरुवा रोपण गर्दै बगैंचाको औपचारिक शुभारम्भ गरेका थिए।
कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी संघका पदाधिकारी तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता थियो।
चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठानको एन्जल स्पेसल फन्डका उपमहासचिव तथा हेजे सिटीका प्रतिनिधि फेङ वेइजीले सम्बोधन गरेका थिए। राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्ध, पियोनी फूलको सांस्कृतिक महत्त्व तथा बगैंचा निर्माणले वातावरण र सौन्दर्यमा पुर्याउने योगदानबारे धारणा राखेका थिए। पियोनी फूल चिनियाँ संस्कृति र परम्परामा समृद्धि, सौन्दर्य तथा शुभताको प्रतीक मानिन्छ। नेपालमा राष्ट्रिय फूल लालीगुराँसले प्रकृति, पहिचान र राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्छ। यी दुई फूललाई एउटै बगैंचामा जोड्ने प्रयासले दुई देशको सांस्कृतिक पहिचानलाई प्रकृतिमार्फत नजिक ल्याएको छ।
बगैंचा उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम, मित्रता उपहार आदानप्रदान, हस्तकला प्रदर्शनी तथा पियोनी संस्कृतिमा आधारित सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। सहभागीहरूले पियोनी फूलको चित्र बनाउने, परम्परागत कागज काट्ने कला सिक्ने तथा सुगन्धित साना झोलासम्बन्धी शैक्षिक प्रश्नोत्तरीमा भाग लिएका थिए।
चिनियाँ प्रतिनिधिमण्डलले पियोनी संस्कृतिसँग सम्बन्धित सांस्कृतिक तथा सिर्जनात्मक सामग्री उपहारस्वरूप प्रदान गरेको थियो। बगैंचामा पियोनी संस्कृतिसम्बन्धी सामग्री र अन्य सांस्कृतिक वस्तुहरूको प्रदर्शनीसमेत गरिएको थियो।
समारोहमा नेपाली बालबालिकाका लागि परोपकारी स्वास्थ्य सहायता कार्यक्रम पनि सार्वजनिक गरिएको छ। शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठान र त्यसको एन्जल स्पेसल फन्डले सुरु गरेको कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचार आवश्यक भएका तीनदेखि पाँच जना बालबालिका छनोट गरिनेछ।
छनोट भएका बालबालिकालाई सन् २०२७ अप्रिलमा चीनको शान्दोङ प्रान्त लैजाने र त्यहाँ निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने योजना रहेको छ।
होटल व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बगैंचाको निर्माणसँगै संरक्षण र निरन्तरतामा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले बगैंचालाई सांस्कृतिक तथा पर्यटकीय आकर्षणका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले स्वागत गर्दै नेपाल–चीन तथा धुलिखेल नगरपालिकासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताए।
धुलिखेलमा निर्माण गरिएको पियोनी बगैंचाले सांस्कृतिक आदानप्रदानको नयाँ आधार तयार गर्नुका साथै स्थानीय पर्यटन, समुदायको सहभागिता र बालबालिकाको स्वास्थ्य सहायता कार्यक्रमलाई समेत जोड्ने अपेक्षा गरिएको छ।
पियोनी र लालीगुराँसको सुगन्ध फैलाउने यो बगैंचा दुई देशबीचको मित्रताको प्रतीक बनेर विकसित हुने विश्वास गरिएको छ।