बाबासँगको तस्बिर छैन, तर सम्झना अनगिन्ती छन्


मेचीकाली

-दुर्गा भण्डारी 

अरूले बासँगका तस्बिरले फेसबुकका भित्ता रंग्याउँदा म आफूलाई हेर्छु—ओहो! मसँग त बाबासँग उभिएको एउटा तस्बिरसम्म छैन। कस्ता थिए त ती दिनहरू, जहाँ सम्झनाका लागि राख्न एउटा फोटोसमेत खिच्ने सुविधा थिएन भनौँ वा अरू कुनै कारण!

बाबा, हजुरसँगको एउटा तस्बिर नहुनुले पनि कहिलेकाहीँ मन साह्रै अमिलो हुन्छ। आफैँलाई सम्झाउँछु एउटा सत्य कुराले—तस्बिरहरू नहुँदैमा याद, माया र सम्झना कहाँ कम हुन्छ र? धेरै याद त छैनन् मसँग बाबाका, तर जति छन् अनगिन्ती छन्, अमूल्य छन्, मिठासपूर्ण छन्, जुन आज २४ वर्ष बितिसक्दा पनि ताजा र स्मरणीय छन् र जीवन्त रहनेछन्।

बाबा र मेरो उमेरको अन्तर ६३ वर्षको थियो। बाबाको अन्तिम क्षणमा म जम्मा ५ वर्षकी थिएँ। ५ वर्षको उमेरमा बाबासँगको सामीप्यता मैले त्यतिखेर अनुभव गर्न सकेकी थिइनँ, तर अहिले महसुस गर्दैछु। बाबासँग म एकदमै लाडे पल्टिने गर्थेँ, कान्छी छोरी जो थिएँ।

जीवन खुसीमा चलिरहेकै बेला कर्मको लेखा बडो कठोर र निर्दयी हुँदो रहेछ। बाबालाई अस्पतालबाट घर ल्याइसकेपछि थाहा भयो—हाम्रो घरको मूल पिल्लर ढल्दै थियो, बाबा ढल्दै हुनुहुन्छ भन्ने असह्य सत्य हाम्रो माझ आयो। बाबा ठूलो रोगको सिकार हुनुभयो।

बाबा बिरामी परेदेखि बाबा स्वर्गवास हुँदासम्मको अवधिमा मेरी मम्मी र मभन्दा अगाडिको दाइ, विशेष गरी मेरी दिदीले कति कहालीलाग्दो जीवन भोगे। समाजले बा नहुँदा कस्तो व्यवहार गर्छ, आफ्ना भनिने आफन्त कस्ता हुन्छन्—सबै कुरा मैले धेरै पछि थाहा पाएँ। तर उहाँहरूको आँखामा अहिले पनि ती दिनहरू नाचिरहेका छन्।

त्यसपछिको समयमा मम्मीले कति आर्थिक तनाव बेहोर्नुपर्‍यो। त्यो बेला सिर्जना भएका तनावले अहिलेसम्म पनि पूर्णरूपमा मम्मीलाई प्रेसर फ्री महसुस हुँदैन। भोलिका लागि बचाउनुपर्ने रहेछ, पैसाभन्दा ठूलो केही रहेनछ भन्ने छाप बसेको छ।

तर अवस्था जस्तोसुकै भए पनि मम्मीले हामीलाई समाजको अब्बल मान्छे बनाउन कति मेहनत गर्नुभयो, त्यो म शब्दमा बयान गर्न सक्दिनँ। सायद त्यस्तै परिस्थितिले मेरी मम्मीलाई कठोर बनाएको होला।

केही समयपछि दिदी मम्मीको साथमा हातेमालो गर्ने हुनुभयो। मम्मीलाई अलि सजिलो भयो। त्यसपछि दिदी र मम्मी मिलेर हामीलाई कुनै कुराको अभाव हुन दिनुभएन। बिस्तारै ठूलो दाइ पनि मम्मी र दिदीको सपोर्टर हुन थाल्नुभयो।

साँच्चिकै भनौँ भने, मैले कहिले महसुससम्म गर्न पाइनँ कि म बाबा बिनाको छोरी हुँ र मैले केही रहरहरू मार्नुपर्छ भनेर। जब बुझ्ने भएँ, अनि बाबाको कमी मात्रै महसुस गरेँ।

मेरी मम्मी र दिदी नै मेरा जिउँदा भगवान् हुन्, जो म कहिल्यै बिर्सने छैन।

 म सम्पूर्ण सन्तानलाई यत्ति भन्न चाहन्छु—आफ्ना बा–आमालाई सबैभन्दा माथि राख्नुहोस्, प्रेम गर्नुहोस्, प्रेम देखाउनु पनि होस।

आज बाबा हाम्रो माझ हुनुहुन्न, तर बाबाको अमूल्य आशीर्वाद र सम्झना, बाबाले सिकाउनुभएको मार्गदर्शन हाम्रै साथमा छ।

आज बाबा जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस्। स्वर्गका सारा खुसी हजुरको भागमा परून्।

प्यारो बाबा 💙


प्रतिक्रिया



थप समाचारहरु