म र मेरा उद्धारकर्ताहरू


मेचीकाली

-जगन्नाथ न्यौपाने

मलाई सानैदेखि उद्धारकर्ताको खोजी थियो। बा आए, दाइ आए, काका आए। सबैले मेरो काँधमा हात राखे र भने, "तिम्रो दुःख अब सकिन्छ।"

मेरो दुःख सकिएन, तर उनीहरूको दुःखचाहिँ सकियो। कसैले महल ठड्यायो, कसैले वंश ठड्यायो, कसैले आफ्ना मान्छे ठड्यायो। म भने उहीँ ठडिएर ताली बजाइरहेँ।

जब बा, दाइ र काकाहरूको कथा पुरानो भयो, एउटा नयाँ पात्र मञ्चमा आयो—कालो आत्मा।

उसको आगमनसँगै धेरैले भने, "अब युग फेरिन्छ।"

मैले पनि पत्याएँ। किनकि डुबिरहेको मान्छेले पराललाई पनि डुंगा सम्झिन्छ।

तर बिस्तारै देखियो, मञ्च फेरिएको रहेछ, नाटक उही रहेछ। पात्र फेरिएको रहेछ, प्रवृत्ति उही रहेछ। फरक यति मात्र थियो—पहिले मलाई झुटा सपना बेचिन्थ्यो, अहिले मलाई क्रान्तिको ब्रान्ड बेचिन थाल्यो।

कालो आत्माको वरिपरि नन्दी–भृङ्गीहरूको यस्तो घेरा बन्यो कि त्यहाँ प्रश्न सोध्नु अपराध र जयजयकार गर्नु योग्यता बन्यो। उनीहरूलाई सत्य चाहिएको थिएन, केवल आफ्नो पक्षको सत्य चाहिएको थियो।

एक दिन कालो आत्मा करायो, "मेरो अङ्ग लुछियो!"

म पनि दुखाएँ। किनकि त्यो अङ्ग मेरो पनि थियो। मेरो माटो, मेरो स्वाभिमान, मेरो अस्तित्वको टुक्रा थियो।

तर मेरो पीडामाथि राजनीति गर्नेहरूको भीड लाग्यो। कसैले घाउमा मल्हम लगाएन, सबैले घाउमा माइक ठड्याए। कसैले सीमाको रक्षा गरेन, सबैले आफ्नो छवि जोगाए।

नन्दी–भृङ्गीहरू ताली बजाउन थाले। ताली यति ठूलो थियो कि मेरो सास थुनियो। म भीडमा किचिएँ। मेरो पीडाको आवाज तालीकै ध्वनिमा गाडियो।

त्यसपछि मैले एउटा कुरा बुझेँ—

बा, दाइ र काकाहरूलाई मेरो भविष्य चाहिएको थिएन, कालो आत्मालाई पनि मेरो वर्तमान चाहिएको थिएन।

सबैलाई मेरो नाम चाहिएको थियो।

म भोकै भएँ भने भाषण बन्छु। म रिसाएँ भने आन्दोलन बन्छु। म रोएँ भने नारा बन्छु। म मरेँ भने श्रद्धाञ्जली बन्छु।

तर म बाँचेको बेला कसैलाई मेरो याद आउँदैन।

बा, दाइ र काकाहरूले देशलाई आफ्नो बिर्ता ठाने। कालो आत्माले देशलाई आफ्नो युद्धभूमि ठान्यो। नन्दी–भृङ्गीहरूले देशलाई आफ्नो मठ ठाने।

अनि म? म त केवल कर तिर्ने, भोट हाल्ने, ताली बजाउने र अन्तिममा दोष बोक्ने प्राणी भएँ।

आजकाल मलाई डर बा, दाइ र काकासँग कम लाग्छ। किनकि उनीहरूको असली अनुहार धेरैले देखिसके।

मलाई डर त ती नयाँ अनुहारसँग लाग्छ, जसले आफूलाई प्रश्नभन्दा माथि र आलोचनाभन्दा पवित्र ठान्न थालेका छन्।

किनकि जब कुनै नेता आफूलाई मानिस होइन, विचारधारा होइन, तर भाग्यको अवतार सम्झन थाल्छ, त्यही दिन लोकतन्त्रको घाँटीमा पहिलो गाँठो पर्छ।

र म आज पनि उभिएको छु— बा, दाइ, काका, कालो आत्मा र नन्दी–भृङ्गीहरूको बीचमा।

फरक यति मात्र छ, पहिले मलाई झुक्न आदेश दिइन्थ्यो, अहिले मलाई ताली बजाउन आदेश दिइन्छ।

अन्त्यमा मेरो प्रश्न उही छ—

देश साँच्चै बदलिएको हो, कि केवल सिंहासनमा बसेको अनुहार बदलिएको हो?

प्रतिक्रिया



थप समाचारहरु

 

सम्झनामा मेरा बा !

 

कविता- उजाडिएकाे फूलबारी

 

मार्च ८ को इतिहासमा नेपाल