याक अट्याक २०२६ः हिमाल, साहस र नेपालको विश्वयात्रा


शिव थापामगर

नेपालमा खेलकुदको चर्चा हुँदा प्रायः फुटबल, क्रिकेट वा भलिबलजस्ता लोकप्रिय खेलहरू नै केन्द्रमा रहने गर्छन्। तर यही नेपालमा हरेक वर्ष एउटा यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै आएको छ, जसले विश्वका साहसी खेलाडीहरूलाई हजारौं किलोमिटर टाढाबाट हिमालको काखसम्म तान्ने क्षमता राख्छ। अझ रोचक कुरा के छ भने, विश्व माउन्टेन बाइकिङ समुदायमा प्रतिष्ठित मानिने यो प्रतियोगिता नेपालमै भने अपेक्षाकृत कम चर्चामा रहने गरेको छ। यो हो याक अट्याक—पृथ्वीको सबैभन्दा उच्च उचाइमा आयोजना हुने माउन्टेन बाइक रेस।


समुद्री सतहबाट ५,४१६ मिटर उचाइमा रहेको थोराङ ला पास पार गर्ने यो प्रतियोगिता केवल खेल मात्र होइन, साहस, सहनशीलता, मित्रता, पर्यटन र नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको एउटा असाधारण यात्रा हो। विश्वका धेरै खेलाडीहरूका लागि याक अट्याक एउटा रेसभन्दा बढी जीवनमा एकपटक अनुभव गर्नुपर्ने चुनौतीका रूपमा परिचित छ।


याक अट्याकको सुरुवात कुनै ठूलो व्यवसायिक योजना वा अन्तर्राष्ट्रिय लगानीबाट भएको थिएन। सन् २००७ मा बेलायती साहसिक खेलप्रेमी तथा मल्टी टेरेन बाइकिङका संस्थापक फिल इभान्स एभरेस्ट म्याराथनमा सहभागी हुन नेपाल आएका थिए। समुद्री सतहबाट ५,२०० मिटर उचाइमा सुरु हुने विश्वकै कठिन म्याराथनमध्ये एकमा सहभागी हुने क्रममा उनले नेपालका हिमाली पदमार्ग, स्थानीय समुदाय र अनुपम प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गर्ने अवसर पाए। त्यही यात्राका क्रममा उनको मनमा एउटा नयाँ सोच जन्मियो— यदि यी पदमार्गहरू विश्वका धावकहरूका लागि चुनौतीपूर्ण र रोमाञ्चक हुन सक्छन् भने माउन्टेन बाइक खेलाडीहरूका लागि त झन् अद्वितीय अनुभव बन्न सक्छन्। यही सोचले जन्म दियो याक अट्याकलाई, जुन आज विश्वकै प्रतिष्ठित उच्च हिमाली माउन्टेन बाइक रेसमध्ये एकका रूपमा स्थापित भइसकेको छ।


सन् २०२६ को संस्करणमा नेपालसहित विश्वका ११ देशका खेलाडीहरूले सहभागिता जनाए। अष्ट्रिया, ब्राजिल, जर्मनी, भारत, आयरल्यान्ड, इजरायल, स्पेन, स्विडेन, बेलायत, संयुक्त राज्य अमेरिका र नेपालका गरी २८ राइडरहरू एउटै चुनौतीको खोजीमा हिमालतर्फ उक्लिए। उनीहरूको उद्देश्य केवल प्रतियोगितामा भाग लिनु थिएन; उनीहरू पृथ्वीको सबैभन्दा उच्च उचाइको माउन्टेन बाइक रेस पूरा गर्ने सपना बोकेर नेपाल आएका थिए।

मे २२ मा काठमाडौंको ठमेलमा रेस दर्तासँग सुरु भएको यात्रा भोलिपल्ट बेँसीसहरतर्फ प्रस्थानसँगै वास्तविक चुनौतीमा रूपान्तरण भयो। मे २४ देखि ३० सम्म लगातार छ दिनसम्म खेलाडीहरूले अन्नपूर्ण क्षेत्रका दुर्गम भूभागमा प्रतिस्पर्धा गरे। करिब २५० किलोमिटर दूरी, ९ हजार मिटरभन्दा बढी उकालो, कच्ची सडक, जिप ट्र्याक, जंगलका बाटाहरू, साँघुरा पहाडी गोरेटाहरू र हिउँले ढाकिएका जोखिमपूर्ण पदमार्गहरू पार गर्नु उनीहरूको दैनिक चुनौती बन्यो।


यात्राको सबैभन्दा कठिन र प्रतीक्षित क्षण थियो थोराङ ला पास पार गर्ने दिन। ५,४१६ मिटर उचाइमा रहेको यो हिमाली भञ्ज्याङ सगरमाथा आधार शिविरको उचाइसँग लगभग तुलना गर्न सकिन्छ। त्यहाँ पुग्दा अक्सिजनको मात्रा निकै कम हुन्छ। तापक्रम एकाएक घट्न सक्छ। मौसम केही मिनेटमै परिवर्तन हुन सक्छ। यस्तो अवस्थामा साइकल चलाउनु मात्र होइन, सामान्य रूपमा हिँड्न पनि संघर्ष गर्नुपर्छ। त्यसैले याक अट्याकमा प्रतिस्पर्धा गर्ने अधिकांश खेलाडीहरूका लागि वास्तविक प्रतिस्पर्धा अरूसँगभन्दा बढी आफ्नै शरीर, आफ्नै मनोबल र आफ्नै सीमासँग हुने गर्छ।


याक अट्याकको विशेषता यसको कठिनाइमा मात्र सीमित छैन। हिउँले ढाकिएका अन्नपूर्ण हिमशृंखलाहरू, गहिरा खोँचहरू, हिमाली बस्तीहरू, प्राचीन पदमार्गहरू र स्थानीय समुदायसँगको प्रत्यक्ष भेटले यो प्रतियोगितालाई संसारका अन्य माउन्टेन बाइक रेसहरूभन्दा फरक बनाउँछ। यही कारणले विश्वका धेरै राइडरहरू याक अट्याकलाई खेलकुद र साहसिक पर्यटनको अद्वितीय संयोजनका रूपमा वर्णन गर्छन्।


विगत दुई दशकदेखि साहसिक साइकल पर्यटनको क्षेत्रमा क्रियाशील म टि भि नेपाल र मल्टी टेरेन बाइकिङले याक अट्याकलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नेपाल र श्रीलंकामा आधारित विभिन्न साइकल यात्रा, प्रतियोगिता र साहसिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले नेपालका दुर्गम पदमार्ग र हिमाली भूगोललाई विश्वमाझ पु¥याउन निरन्तर प्रयास गरिरहेको छ। सन् २०२६ को संस्करणमा धुलिखेल अस्पताल सह–आयोजकका रूपमा सहभागी रह्यो। उच्च हिमाली क्षेत्रमा आयोजना हुने यस्तो चुनौतीपूर्ण प्रतियोगितामा खेलाडीहरूको स्वास्थ्य, सुरक्षा र आकस्मिक उपचार व्यवस्थापनका लागि अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो। खेल, पर्यटन र स्वास्थ्य सेवाबीचको यही सहकार्यले याक अट्याकलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका रूपमा स्थापित गर्न मद्दत पु¥याएको छ।


याक अट्याकले नेपालको पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। हरेक वर्ष प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राविधिक, सञ्चारकर्मी तथा साहसिक पर्यटकहरूले नेपालका हिमाल, संस्कृति, समुदाय र प्राकृतिक सौन्दर्यलाई विश्वभर पु¥याउने काम गर्छन्। उनीहरूले सामाजिक सञ्जाल, भिडियो, तस्बिर र आफ्ना अनुभवमार्फत नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन सहयोग गरिरहेका छन्। यस अर्थमा याक अट्याक केवल एउटा खेलकुद प्रतियोगिता होइन, नेपालको पर्यटन प्रवद्र्धन गर्ने सशक्त माध्यम पनि हो।


आज विश्वभर साहसिक पर्यटनको महत्व बढ्दै गइरहेको छ। विभिन्न देशहरूले आफ्ना प्राकृतिक सम्पदा र साहसिक गतिविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न प्रतिस्पर्धा गरिरहेका छन्। यस्तो समयमा नेपालको हिमाल, भूगोल र साहसिक सम्भावनालाई विश्वमाझ चिनाइरहेको याक अट्याकजस्तो प्रतियोगिताले अपेक्षाकृत कम चर्चा पाउनु विडम्बनापूर्ण देखिन्छ। किनकि यो केवल एउटा रेस होइन। यो नेपालको सम्भावनाको कथा हो। यो हिमाल र मानव इच्छाशक्तिबीचको संवाद हो। यो साहस, संघर्ष, मित्रता र उपलब्धिको कथा हो। र सबैभन्दा महत्वपूर्ण कुरा, यो नेपाललाई विश्वसँग जोड्ने एउटा असाधारण यात्रा हो।


सायद यही कारणले याक अट्याकको वास्तविक विजय पदकमा मात्र मापन हुँदैन। यसको वास्तविक सफलता त विश्वका विभिन्न देशका खेलाडीहरूलाई नेपालको हिमालसम्म ल्याउन, उनीहरूलाई यहाँको संस्कृति र समुदायसँग जोड्न, र नेपाललाई विश्वको साहसिक पर्यटन नक्सामा अझ बलियो रूपमा स्थापित गर्न सक्नुमा निहित छ। हिमालको काखबाट सुरु भएको यो यात्रा आज विश्वसम्म पुगिसकेको छ, र याक अट्याकले अझै पनि नेपाललाई नयाँ उचाइमा पु¥याउने आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

सम्झनामा मेरा बा !

 

कविता- उजाडिएकाे फूलबारी

 

मार्च ८ को इतिहासमा नेपाल