धुलिखेल- भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हिमालय दृश्य रिसोर्ट, धुलिखेलले ५ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
रिसोर्टले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित समुदाय तथा परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको रिसोर्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा बाढी प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै रिसोर्टले मानवीय सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको जनाएको छ।
विपद्को समयमा राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै रिसोर्टले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा मुलुकको पुनर्निर्माणमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।