काभ्रे । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बनेपा ब्वाइज क्लब (बीबीसी) ले १ लाख ७ हजार ९ सय १२ रुपैयाँ संकलन गरेको छ ।
क्लबले विपद् कोष खडा गरी सदस्य तथा शुभेच्छुकहरूबाट संकलन गरेको रु. १,०७,९१२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
क्लबका अनुसार उक्त रकम ३२ जना सहयोगदाताबाट संकलन गरिएको हो । संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सम्बन्धमा क्लबले लिखित जानकारीसमेत सार्वजनिक गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले क्लबले विपद् कोषमार्फत सहयोग अभियान सञ्चालन गरेको थियो । अभियानमा विभिन्न व्यक्ति, व्यवसायी तथा क्लबका सदस्यहरूले स्वेच्छिक रूपमा रकम सहयोग गरेका थिए ।
क्लबले विपद्का बेला आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्य र बीबीसी टिमका संयोजक सुशील राजवंशीले संयुक्त रूपमा सहयोग रकम कोषमा जम्मा गरिएको जानकारी दिएका छन् ।
