काभ्रेका सात स्थानीय तहमा १,५२१ पानीका स्रोत सुके, तेमाल र पाँचखालमा अवस्था गम्भीर


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोकमा खानेपानीका प्राकृतिक स्रोत सुक्ने क्रम तीव्र बनेको छ । जिल्लाका सात स्थानीय तहमा गरिएको विस्तृत सर्वेक्षणले पहिचान गरिएका कुल पानीका स्रोतको २७ प्रतिशत पूर्ण रूपमा सुकिसकेको देखाएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणका क्रममा नमोबुद्ध, पाँचखाल, धुलिखेल र पनौती नगरपालिका तथा बेथानचोक, रोशी र तेमाल गाउँपालिकामा गरी ५ हजार ६८९ वटा पानीका स्रोत पहिचान गरिएको थियो । तीमध्ये १ हजार ५२१ वटा स्रोत पूर्ण रूपमा सुकेको इसिमोडकी मूलाधार व्यवस्थापन विश्लेषक अञ्जु पण्डितले जानकारी दिनुभयो ।

सर्वेक्षणमा पहिचान भएका स्रोतमा ५ हजार १६८ वटा मूल/मुहान र ५२१ वटा पोखरी छन् । अध्ययनले मूलको तुलनामा पोखरीहरू सुक्ने दर अझ बढी रहेको देखाएको छ । त्यस्तै, अहिले पनि पानी आइरहेका स्रोतहरूमध्ये ५८ प्रतिशतको बहाव विगतको तुलनामा घटेको पण्डितले बताउनुभयो ।


भूकम्पदेखि पूर्वाधार विकाससम्म कारण

इसिमोडको अध्ययनअनुसार पानीका स्रोत सुक्नुमा सबैभन्दा ठूलो प्रभाव भूकम्पको देखिएको छ । सर्वेक्षणमा ३४ प्रतिशत स्रोत भूकम्पका कारण सुकेको पाइएको छ । त्यस्तै, ३१ प्रतिशत सुख्खा तथा खडेरी, १६ प्रतिशत पूर्वाधार विकास, ९ प्रतिशत मूलको वेवास्ता, ७ प्रतिशत बाढीपहिरोजस्ता प्राकृतिक विपद् र ३ प्रतिशत अन्य कारण ले पानीका स्रोत सुकेको पण्डितले बताउनुभयो । अध्ययनले पानीका स्रोतको अवस्था पहिचान र संरक्षणमा स्थानीय तहको पर्याप्त ध्यान नपुगेको अवस्थालाई पनि मुहान सुक्दै जानुको एउटा कारणका रूपमा देखाएको छ ।


तेमाल र पाँचखालमा सबैभन्दा बढी स्रोत सुके

स्थानीय तहअनुसार हेर्दा तेमाल गाउँपालिका र पाँचखाल नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएका छन् । दुवै स्थानीय तहमा पहिचान गरिएका पानीका स्रोतको ४० प्रतिशत सुकेको सर्वेक्षणले देखाएको छ । तेमालमा ६६५ वटा मूल र ७२ वटा पोखरी गरी ७७३ स्रोत पहिचान गरिएको थियो । तीमध्ये ४० प्रतिशत स्रोत सुकेका छन् । पाँचखालमा भने ८३६ वटा मूल र २२८ वटा पोखरी गरी १ हजार ६४ स्रोत पहिचान गरिएकोमा ४० प्रतिशत स्रोत सुकेको पाइएको छ । धुलिखेलमा १ हजार १७४ स्रोत मध्ये २९ प्रतिशत, रोशीमा ९६९ स्रोत मध्ये २२ प्रतिशत र नमोबुद्धमा ४७८ स्रोत मध्ये २० प्रतिशत सुकेको अध्ययनले देखाएको छ ।

बेथानचोकमा ३८५ स्रोत पहिचान गरिएकोमा १९ प्रतिशत अर्थात् ७४ वटा स्रोत सुकेका छन् । सात स्थानीय तहमध्ये पनौतीको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ । त्यहाँ ८५४ वटा मूल र २६ वटा पोखरी गरी ८८० स्रोत मापन गरिएकोमा ९ प्रतिशत मात्र सुकेको सर्वेक्षणले देखाएको छ ।


संरक्षणमा लगानी बढाउने तयारी

इसिमोडले सन् २०१६ देखि काभ्रेपलाञ्चोकमा खानेपानी तथा जलाधार संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । हिन्दुकुश हिमालय क्षेत्रअन्तर्गत नेपाल, भारत र भुटानमा पानी संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले काभ्रेका स्थानीय तहमा पानीका स्रोतको अवस्था पहिचान तथा नक्साङ्कनमा समेत सहयोग गरेको हो । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार इसिमोडको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका पानीका स्रोत पहिचान गरी तिनको संरक्षण र सम्बद्र्धनका लागि नक्साङ्कन गरिएको छ ।

उहाँका अनुसार स्रोतको पहिचान भइसकेपछि चालु आर्थिक वर्षमा सशर्त अनुदानतर्फ प्राप्त डेढ करोड रुपैयाँबाट पानीका स्रोत संरक्षणसँगै खानेपानी व्यवस्थापनका काम अघि बढाइनेछ । पानीका प्राकृतिक स्रोत लगातार घट्दै गएको तथ्यांक सार्वजनिक भएसँगै काभ्रेका स्थानीय तहमा मुहान संरक्षण, पानी पुनर्भरण र खानेपानी व्यवस्थापनलाई थप प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु