‘घरमै राहदानी सेवा'मा देखिएन आकर्षण


मेचीकाली

काभ्रे– नागरिकको समय र खर्च बचाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सुरु गरेको ‘घरमै राहदानी’ सेवा अपेक्षाअनुसार प्रभावकारी बन्न सकेको छैन। सेवा सुरु भएको सुरुवाती चरणमा उल्लेख्य आवेदन परे पनि हुलाक शुल्क सेवाग्राही आफैंले तिर्नुपर्ने व्यवस्था लागू भएपछि घरमै राहदानी लिनेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

जिल्ला प्रशासन कार्यालयले बैशाख १५ गतेदेखि ‘घरमै राहदानी’ सेवा सञ्चालनमा ल्याएको थियो। सेवा सुरु भएको पहिलो सातासम्म घरमै राहदानी पुर्‍याउँदा लाग्ने प्रतिराहदानी ५५ रुपैयाँ हुलाक शुल्क कार्यालयले नै व्यहोरेको थियो। त्यस अवधिमा ७६ जनाले घरमै राहदानी बुझ्ने भन्दै निवेदन दिएका थिए।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बैशाख २३ गतेपछि हुलाक शुल्क सेवाग्राही आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरिएसँगै आवेदन सङ्ख्या ह्वात्तै घटेको हो। उहाँका अनुसार त्यसयता असार मसान्तसम्म करिब साढे दुई महिनाको अवधिमा जम्मा ५१ जनाले मात्रै घरमै राहदानी लिने निवेदन दिएका छन्। सेवा सुरु भएदेखि असार मसान्तसम्म यस्तो सुविधा प्रयोग गर्नेको सङ्ख्या १२७ पुगेको कार्यालयको तथ्याङ्क छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले जिल्लाका अधिकांश राहदानी सेवाग्राही स्थायी रूपमा काभ्रेपलाञ्चोकका भए पनि हाल बनेपा, धुलिखेल, पनौती, काठमाडौं, भक्तपुरलगायतका सहरमा बसोबास गर्ने भएकाले जिल्लाभित्र मात्रै राहदानी पुर्‍याउने व्यवस्था उनीहरूका लागि प्रभावकारी हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार पाँच हजार रुपैयाँ राहदानी शुल्क तिरेपछि थप ५५ रुपैयाँ हुलाक शुल्क तिर्नुपर्ने व्यवस्था पनि सेवाग्राहीले झन्झटिलो ठानेका कारण सेवा कम प्रयोग भएको हुन सक्छ। कतिपय सेवाग्राहीले आफू हाल बसोबास गरिरहेको स्थानमा राहदानी पुर्‍याउन नमिल्ने भए कार्यालयमै आएर बुझ्ने विकल्प रोज्ने गरेको उहाँले जानकारी दिनुभयो।

जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोककी नायब सुब्बा तथा सूचना अधिकारी अञ्जना निरौला तामाङले हाल यो सेवा जिल्लाका १३ वटै स्थानीय तहभित्र मात्रै सञ्चालन भइरहेको बताउनुभयो। काभ्रेपलाञ्चोक बाहिर बसोबास गर्ने सेवाग्राहीको घरमा राहदानी पुर्‍याउने अधिकार जिल्ला हुलाक कार्यालयसँग नरहेको उहाँको भनाइ छ।

उहाँका अनुसार स्थायी ठेगाना काभ्रेपलाञ्चोक भए पनि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा अस्थायी बसोबास गर्ने सेवाग्राहीका लागि विभागको निर्देशन आएमा त्यसअनुसार आवश्यक व्यवस्था गर्न सकिनेछ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३० हजार १४९ वटा राहदानी आवेदन दर्ता भएका थिए। तीमध्ये सात हजार १८९ वटा आवेदन राहदानी विभागमा सिफारिस गरिएको थियो भने १३ हजार २०८ वटा राहदानी कार्ड सेवाग्राहीलाई वितरण गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु