सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस : वृद्धाश्रममा भोजन तथा न्यानो जुत्ता वितरण


मेचीकाली

पनौती । जिल्ला सहकारी संघ लि., काभ्रेले आफ्नो ५९औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत पनौती नगरपालिका–९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माईती वृद्धाश्रममा भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ।

२०८३ भाद्र २६ गते संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन गराउनुका साथै न्यानो जुत्ता वितरण गरिएको थियो। सो अवसरमा संघका पदाधिकारी तथा कर्मचारीहरूले ज्येष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको अनुभव र आवश्यकताबारे जानकारीसमेत लिएका थिए।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति र अनुभवका स्रोत भएकाले उनीहरूको सम्मान तथा संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले सहकारी संस्थाको आर्थिक तथा संस्थागत विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाहलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

आजै स्थापना दिवसको अवसरमा संघको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको छ । अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ, कोअपरेटिभ मेनेजर्स क्लबका अध्यक्ष गोपाल दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु