बनेपा– ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले बाल दिवसको अवसरमा भदौ २५ गते बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी साना बालबालिकालाई सम्मान तथा उपहार वितरण गरेको छ । विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरूले तल्लो तहका बालबालिकालाई सम्मान गर्दै कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए ।
कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले प्ले ग्रुप देखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री उपहार स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा करिब ५०० भन्दा बढी बालबालिकालाई विधिपूर्वक पूजा गरी कापी, कलम लगायत स्टेशनरी सामग्री, फलफूल, खाजा तथा अन्य सामग्री वितरण गर्दै बालबालिकाहरुलाई सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरिएको थियो ।
“शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि” भन्ने मूल नारा सहित सञ्चालित प्रतिष्ठानले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै आइरहेको छ । विद्यालय प्रशासनका अनुसार “बालमैत्री शासन, बाल अधिकारको सम्मान” भन्ने नारालाई आत्मसाथ गर्दै यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्य, शिक्षक–शिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि अभिभावकहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।
प्रबन्ध निर्देशक वैद्यका अनुसार विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, संस्कार र व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्य साथै ठुलालाई सम्मान र सानालाई माया दिने भावना विकास गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो । यस्ता मौलिक सांस्कृतिक तथा धार्मिक गतिविधिहरुले बालबालिकामा संस्कार, आपसी सम्मान तथा संस्कृति र परम्पराप्रति सकारात्मक भावन विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रम प्रति अभिभावक तथा शिक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले सानै उमेर देखि बालबालिकामा कला, संस्कृति, सहकार्य सहयोग, सम्मान र सामाजिक भावनाको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।