धुलिखेलमा बन्दै गरेको ट्रमा सेन्टरको आधा काम सकियो


मेचीकाली

काभ्रे । अरनिको र बीपी राजमार्ग आसपास हुने गम्भीर दुर्घटनाका घाइते तथा आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी धुलिखेल अस्पताल परिसरमा निर्माण भइरहेको धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको निर्माणले गति लिएको छ।

निर्माण सुरु भएको करिब १५ महिनामा केन्द्रको भौतिक पूर्वाधार निर्माणको काम झण्डै ५० प्रतिशत पूरा भएको धुलिखेल अस्पतालले जनाएको छ। अस्पतालका प्राडा. दिपक श्रेष्ठका अनुसार निर्माण कार्य निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ। निर्माणको वर्तमान गति कायम रहे तोकिएको समयमै आयोजना सम्पन्न भएर सञ्चालनमा आउने उहाँले बताउनुभयो। भवन निर्माणको जिम्मा पाएको कम्पनीले दैनिक करिब २५० जना कामदार परिचालन गरेर काम गरिरहेको छ।


२०२७ जुनमा भवन हस्तान्तरण

धुलिखेल अस्पताल परिसरमा निर्माण भइरहेको ट्रमा तथा आकस्मिक केन्द्रको निर्माण सन् २०२७ जुन महिनासम्म सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता छ। एक सय शैय्याको यो केन्द्र निर्माणका लागि जापान सरकारले ठूलो आर्थिक सहयोग उपलब्ध गराएको छ। जापान सरकारको ३.८७९ बिलियन जापानी येन अर्थात् करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको सहयोगमा आयोजना अघि बढिरहेको हो।

कुल सहयोगमध्ये करिब २ अर्ब रुपैयाँ भवन तथा भौतिक पूर्वाधार निर्माणमा खर्च हुनेछ भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ अत्याधुनिक स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ। यसअन्तर्गत सिटी स्क्यान, एमआरआई, एक्सरे, भेन्टिलेटर, शल्यक्रिया कक्षका उपकरण, अस्पतालका बेडलगायत आवश्यक सामग्री उपलब्ध गराइनेछ।


पहिलो चरणमै ३० करोडको जनशक्ति र उपकरण आवश्यक

ट्रमा सेन्टर सञ्चालनमा ल्याउन पहिलो चरणमा करिब ३० करोड रुपैयाँ बराबरको उपकरण तथा जनशक्ति आवश्यक पर्ने अस्पतालका प्राडा. श्रेष्ठले बताउनुभयो। अस्पतालले त्यसका लागि बजेट व्यवस्थापनसमेत गरिसकेको उहाँको भनाइ छ। ट्रमा सेन्टरका लागि आवश्यक सिटी स्क्यान र एमआरआई मेसिनको माग भइसकेको र आगामी फेब्रुअरीसम्म ती उपकरण आइपुग्ने अपेक्षा गरिएको छ। नेपाल सरकारले ट्रमा सेन्टर निर्माणका लागि धुलिखेल अस्पताललाई १६ रोपनी जग्गा ५० वर्षका लागि उपलब्ध गराएको छ।


६ तलाको भवनमा के–के रहनेछ ?

निर्माणाधीन ट्रमा तथा आकस्मिक केन्द्रमा अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालन गर्ने गरी भवनको संरचना तयार पारिँदैछ। भवनको बेसमेन्टमा विभिन्न उपकरण तथा करिब २ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी रहनेछ। दोस्रो तलामा प्रशासनिक कक्ष, सभा हल र क्याफ्टेरिया रहनेछन्। तेस्रो तलामा बहिरङ्ग सेवा, प्रयोगशाला, फिजियोथेरापी र रक्तसञ्चार केन्द्र रहनेछ। चौथो तलामा आईसीयू, एचडीयू, अप्रेसन थिएटर तथा उपकरण निर्मलीकरण कक्ष रहनेछन्। त्यस्तै पाँचौँ तलामा आकस्मिक कक्षसँगै सिटी स्क्यान, एक्सरे, एमआरआई र आकस्मिक शल्यक्रिया कक्ष रहनेछ। छैटौँ तलामा अन्तरङ्ग विभाग सञ्चालन गर्ने योजना छ।


दुर्घटनाका घाइतेलाई ‘समयमै उपचार’ मुख्य उद्देश्य

ट्रमा तथा आकस्मिक केन्द्र सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुरलगायत जिल्लाका गम्भीर घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले तत्काल विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ। विशेषगरी अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दाका लागि केन्द्र महत्वपूर्ण हुने अस्पतालको विश्वास छ। बीपी राजमार्गमार्फत तराईका विभिन्न जिल्लासँग जोडिएका बिरामीले समेत यसबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।

ट्रमा सेन्टरमा उपचार सेवासँगै दुर्घटनापूर्व र दुर्घटनापछिको स्वास्थ्य व्यवस्थापनलाई समेत प्राथमिकता दिइनेछ। अस्पतालका अनुसार प्रि–हस्पिटल केयर, ट्रमा सम्बन्धी विशेषज्ञ चिकित्सक, नर्स तथा पारामेडिक्स उत्पादन, ट्रमा केयर लिडरको विकास, दुर्घटना रोकथाम तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।


एक दशकअघिको अवधारणा अब पूर्वाधार बन्दै

धुलिखेल अस्पतालले ट्रमा तथा आकस्मिक केन्द्र स्थापना गर्ने अवधारणा सन् २०१४ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) समक्ष प्रस्तुत गरेको थियो। अस्पतालको प्रस्तावपछि विभिन्न चरणमा स्थलगत निरीक्षण तथा छलफल भएको थियो। त्यसपछि नेपाल सरकार र जापान सरकारको समन्वयमा सन् २०२३ अक्टोबर र २०२५ अप्रिलमा आयोजना अघि बढाउने सम्बन्धमा सम्झौता भएको थियो।

सन् २०२५ अप्रिलमा जाइका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा जापानी निर्माण कम्पनी टोडा कर्पोरेसनसँग ट्रमा तथा आकस्मिक केन्द्र निर्माणसम्बन्धी सम्झौता गरिएको थियो। २०८२ जेठ १४ गतेदेखि निर्माण कार्य औपचारिक रूपमा अघि बढेको हो। निर्माण सम्पन्न भएपछि धुलिखेल अस्पताल परिसरमा रहेको यो एक सय शैय्याको ट्रमा तथा आकस्मिक केन्द्र काभ्रेसहित मध्यपहाडी तथा बीपी राजमार्ग आसपासका जिल्लाका लागि गम्भीर दुर्घटना र आकस्मिक उपचारको महत्वपूर्ण ‘रेफरल सेन्टर’ बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु