दुई टिपरको बीचमा च्यापिँदा जेसीबी सहचालकको मृत्यु


मेचीकाली

काभ्रे-काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ठुलीबेशीस्थित वेतेनी बगरमा दुईवटा टिपरको बीचमा च्यापिँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार राति करिब १० बजे बा ४ ख ९८२५ नम्बरको टिपरले बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा काम गरिरहेका जेसीबीका सहचालक देबेन्द्र तामाङ च्यापिएका थिए । पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल–४ तामाघाट बस्दै आएका १९ वर्षीय तामाङ रोकिराखिएको बा ४ ख ९९०९ नम्बरको टिपर र ब्याक गरिरहेको टिपरको बीचमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटी, दोलालघाट र पाँचखालबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली समेत खटिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयले दुवै टिपरमा तोडफोड गर्दा झ्याल–ढोकाका सिसामा क्षति पुगेको छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा संलग्न बा ४ ख ९८२५ नम्बरको टिपरका चालक ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया



थप समाचारहरु