पत्रकारिताको विश्वसनीयता जोगाउनुपर्नेमा जोड


मेचीकाली

काभ्रे — सञ्चार माध्यमप्रति नागरिकको विश्वास घट्दै गएको भन्दै पत्रकारितालाई अझ जिम्मेवार, तथ्यपरक र आचारसंहितामैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सम्पादक समाज नेपालको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा शनिबार पनौतीमा आयोजित ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पत्रकारिताको विश्वसनीयता, प्रविधिको प्रभाव, आचारसंहिता पालना र स्थानीय पत्रकारिताको सुदृढीकरणका विषयमा धारणा राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सञ्चार माध्यमप्रति नागरिकको विश्वास क्रमशः घट्दै गएको उल्लेख गर्दै पत्रकारहरू यस विषयमा संवेदनशील बन्नुपर्ने बताउनुभयो। कृत्रिम बुद्धिमत्ता (एआई) तथा च्याटजिपिटीजस्ता प्रविधिको प्रयोग बढेसँगै पत्रकारहरूको बौद्धिक क्षमता र सिर्जनशीलतामाथि चुनौती थपिएको उहाँको भनाइ थियो। विशेष अतिथि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारिता क्षेत्र अझ जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिनुभयो। मिडियाको संख्या बढे पनि विषयवस्तुमा अपेक्षित विविधता आउन नसकेको, पत्रकारहरू आचारसंहिता पालनामा कमजोर देखिएको तथा लोकतन्त्रमा मिडियाको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। प्रविधिले कामलाई सहज बनाए पनि पत्रकारहरूको सिर्जनशीलता कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहन आग्रह गर्नुभयो।

सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रशिक्षक जगत नेपालले पत्रकारितामा सूचना स्रोतको पुष्टि अनिवार्य हुनुपर्ने बताउनुभयो। सूचना, जानकारी र समाचारबीचको भिन्नता स्पष्ट पार्दै उहाँले पत्रकारिता आवाजविहीनहरूको आवाज बन्नुपर्ने धारणा राख्नुभयो। सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा जनमत निर्माणमा परम्परागत सञ्चारमाध्यम क्रमशः कमजोर बन्दै गएको उहाँको भनाइ थियो। अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै विसं २००८ मा वीरगञ्जबाट ‘सेवा’ साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गर्नुभयो। उहाँका अनुसार काभ्रेपलाञ्चोकमा हाल ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता छन्, जसमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा छन्। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास अझ सुदृढ हुने उहाँले बताउनुभयो।

कार्यक्रममा लक्ष्मीप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहाललगायतले धारणा राख्नुभएको थियो। अध्यक्ष दाहालले समाजका विकृति र विसङ्गतिबारे सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावका कारण पत्रकारिताको गुणस्तर कायम गर्न थप चुनौती सिर्जना भएको बताउनुभयो। संघीयता कार्यान्वयनपछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेशाप्रति नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उहाँको भनाइ थियो।

सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू तुलनात्मक रूपमा बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही पत्रकारका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम भएको टिप्पणी गर्नुभयो। नागरिकले पनि पत्रकारलाई जिम्मेवार र सचेत बनाउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो। सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रिनसकेको तर आत्मसमीक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो। पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन पहल गर्न आग्रह गर्नुभयो भने पत्रकार ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरी सुधार्नुपर्ने धारणा राख्नुभयो। पत्रकार भीम गौतमले सामाजिक सञ्जाललाई पूर्ण रूपमा रोक्न नसकिए पनि जिम्मेवार पत्रकारितामार्फत त्यसको नकारात्मक प्रभाव नियन्त्रण गर्न सकिने बताउनुभयो।

सम्पादक समाज नेपालका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका सम्पादक जुनारबाबु बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष माधव दुलालले गर्नुभएको थियो। कार्यक्रममा काभ्रेपलाञ्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रेमा बस दुर्घटना, ८ जनाको निधन