बनेपा-सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरुबीच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको दाबी गरेका छन् ।
आज काभ्रेको बनेपामा इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले टिआरसीमा दलहरुबीच भएको सहमतिले यो सरकारको आयु लामो छ भन्ने सन्देश दिएको बताए । मन्त्री गुरुङले अहिले खेलाडीहरु नामको लागि भन्दा पनि नाम र दामको लागि खेल्ने प्रचलन बढी रहेकोले खेलकुदलाई नेपालको समृद्धि, अनुशासन, पर्यटन, राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने पनि बताए ।
खेल क्षेत्रले राष्ट्रको स्वाभिमान बचाउनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलेको भूमिका अतुलनिय रहेको बताउँदै गुरुङले पछिल्लो समय क्रिकेट र भलिवलले नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सरकारले खेलकुदको विकासका लागि एक वर्षमा करिब ५० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने उनले बताए ।
कार्यक्रममा आईटिएफतर्फ वर्ष उत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ रिक्सन वाइवा र महिलातर्फ सुस्मिता थापा सम्मानित भए । यस्तै उत्कृष्ट प्रशिक्षकतर्फ कृष्ण थापा, उदयीमान खेलाडीतर्फ सजिना तामाङ, उदयीमान प्रशिक्षकतर्फ मनोज पुलामी सम्मानित भए । यस वर्ष आइटिएफतर्फ उत्कृष्ट प्रदेशमा लुम्बिनी र उत्कृष्ट जिल्लामा काठमाडौँ सम्मानित भएको नेपाल आइटिएफ महासङ्घका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।